एमाले जिल्ला अधिवेशनका: दार्चुलाका नौ वटै पालिकाबाट प्रतिनिधि चयन, को को आए ?

दार्चुला । नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिवार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । 

जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रूपमा पुस १५ र १६ गते प्रतिनिधि छनोट गरेको एमालेले शनिवार गाउँ र नगर पालिका कमिटीबाट प्रतिनिधि चयन गरेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिंह बडालले बताउनुभयो ।

उहाँकाअनुसार नगर कमिटीबाट चार जना पुरुष र दुई महिला गरी ६ जना तथा गाउँपालिका कमिटीबाट तीन जना पुरुष र  दुई जना महिला गरी पाँच जना प्रतिनिधि चयन गरिएको छ ।

मालिकार्जुन गाउँपालिका कमिटीबाट पुरुष तर्फ गणेशसिंह धामी, सुरेन्द्रसिंह धामी, पदमसिंह धामी महिलाबाट कमला टमटा र जानकी धामी चयन हुनुभएको मालिकार्जुन गाउँपालिका कमिटी सचिव सुरेन्द्रसिंह धामीले बताउनुभयो ।  

दुहुँ गाउँपालिका कमिटीबाट पुरुषतर्फ जङ्गबहादुर बम, जमनसिह बडाल, उत्तम बहादुर बम र महिलातर्फ भवानी लोथ्याल र पार्वती जोशी सर्वसम्मत चयन गरिएको गाउँ कमिटी अध्यक्ष जङ्गबहादुर बमले बताउनुभयो ।

लेकम गाउँपालिका कमिटीबाट तीन जना पुरुष र दुई जना महिला प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमाले आठौँ जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य परमानन्द जोशीले बताउनुभयो ।  

महाकाली नगर कमिटीबाट चार जना पुरुष र दुई जना महिला गरी ६ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले महाकाली नगर कमिटी अध्यक्ष नरसिह चैसिरले जानकारी दिनुभयो । नगर कमिटीबाट दुर्गा धामी, मदनसिंह ठगुन्ना, खडक सिंह महर, रतनसिंह बोहरा र प्रेमसिंह शाहु चयन हुनुभएको छ।  

व्यास गाउँपालिकाको गाउँ कमिटीबाट मंगलसिह धामी, निर्मला धामी, नारददत्त भट्ट, राजेन्द्रसिंह कुँवर र पूजा भट्ट गरी पाँच जना प्रतिनिधि चयन गरिएको गाउँ कमिटी सचिव नारददत्त भट्टले जानकारी दिनुभयो ।

नेकपा एमाले नौगाड गाउँपालिका स्तरीय कमिटीले सर्वसम्मत पाँच जना प्रतिनिधि चयन गरेको छ ।  पुरुषतर्फ नरेन्द्रसिंह ठगुन्ना, ठगेन्द्र सिंह जुहारी र पानसिंह धामी सर्वसम्मत चयन हुनुभएको छ भने महिलातर्फ गीता ठगुन्ना र रुपा टमटा चयन गरिएको नौगाड गाउँ कमिटी अध्यक्ष जनकसिंह ठगुन्नाले बताउनुभयो ।

दार्चुलाको अपीहिमाल गाउँपालिका, मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा प्रतिनिधि छनोट गरिएको छ । एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशन २४ पुसमा सदरमुकाम खलङ्गामा हुँदै छ । 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : २९ बजे