पुनः एक दिन लम्बियो माओवादी महाधिवेशन : नेतृत्व चयन आजदेखि मात्रै सुरु हुने

काठमाडौँ । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र) को बन्द सत्रको कार्यक्रम आज मध्याह्न एक बजेदेखि हुने भएको छ । माओवादीको महाधिवेशन पुनः एक दिन लम्बिएको छ ।

अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन सात दिनसम्म पनि जारी रहेको छ । शनिवार साँझ निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको थियो । माओवादीको निर्वाचन आयोगले  शनिवार साँझ मात्रै उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्य तालिका सार्वजनिक गरेको थियो ।

महाधिवेशन स्थल कमलादीमा शनिवार साँझको बन्द सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्द सत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गर्नुभयो । 

अध्यक्षले गर्नुभएको प्रस्तावलाई बन्द सत्रले स्वीकार गर्दै शनिवारको सबै प्रक्रिया आजसम्मका लागि स्थगन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शनिवार भएको बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभएको थियो । उहाँले सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराउनु भएपछि सर्वसहमतिले पारित गरेको थियो । 

माओवादीको नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ । 

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ५५ बजे