चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री

गुडीरहेको गाडीमा आगजनी गरी चालकको हत्या गर्ने दुर्गा प्रसाईका ९ जना कार्यकर्ता जेलचलान

झापा । झापाको विर्तामोडमा ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका ९ जना जेल चलान भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरूलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो ।

ज्यान मुद्दामा कारागार चलान हुनेहरूमा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने ४० वर्षीय भीम तुम्बापो लिम्बू, बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, हल्दिबारी– १ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ, बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू र बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन् । फरार रहेका राजवंशीलाई प्रहरीले पछि पक्राउ गरेको थियो ।

उनिहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकहरु हुन् । दुर्गा प्रसाईले केहि महिना अगाडी चलाएको आन्दोलनमा उनीहरूले विर्तामोडमा गुडीरहेको गाडीमा आगजनी गरेका थिए । आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा कारबाही अगाडी बढाएको थियो ।

झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप कारबाही अगाडी बढाइएको थियो ।
भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरूले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ३५ बजे