चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

‘प्रमुख प्रतिपक्षी दलले विरोधका लागि विरोध गर्दैछ’

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धार र पुनर्स्थापनाको कामको हेक्का नराखी प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाढी पहिरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाउनु उचित नभएको बताउनुभएको छ । 

सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै महासचिव पोखरेलले भन्नुभएको छ, “पुष्पकमल दाहालले जाजरकोट भुकम्पका बेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी, पहिरो र डुवानको समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लाग्दछ ।” 

जाजरकोट भूकम्पकाबेला न सडक अवरुद्ध थियो । न त मौसमी प्रतिकुलता नै थियो । निरास बनेका जनतामा आशा जगाउन त्यतिवेलाको प्रमुख प्रतिपक्ष राज्यपक्षभन्दा अगाडि बढेर राहत र उद्धारमा जुटेको थियो । यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन, आलोचनाका लागि आलोचनाको खेती गर्नमा केन्द्रीत बन्न पुगेको देखिन्छ, महासचिव पोखरेलले टिप्पणी गर्नुभएको छ ।

यस पटकको वाढी, पहिरो र डुवानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय भएको भन्दै महासचिव पोखरेलले राजधानी जोडने सबै वाटाहरु अवरुद्ध भएकाबेला पनि सरकारले प्रभावित क्षेत्रमा अधिकांश ग्रामीण सडक समेत अवरुद्ध हुँदा समेत राज्यका निकायले उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित नहुने उल्लेख गर्नुभएको छ । सत्तावियोगका छटपटिबाट बाहिर निक्लन नसिकरहेको प्रमुख विपक्षी दलले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको उहाँले टिप्पणी गर्नुभएको छ ।

“यस पटक सरकार विपद पर्यटनलाई रोक्न पूर्णतः सफल भयो । जाजरकोट भूकम्पको वेलामा भएकोजस्तो विपद पर्यटनको पीड़ा बाढी पहिरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु परेन । यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो”, महासचिव पोखरेलको भनाइ छ ।

क्षतिग्रस्त सड़क सुचारु गर्ने कुरामा सरकारले अपेक्षा गरिएभन्दा छिटो सुचारु गर्न सफल भएको उहाँले चर्चा गर्नुभएको छ । “वीपि राजमार्गको दुरावस्था देखेकाहरुका लागि राज्यका निकायहरुले गरेको काम निकै प्रशंसनीय छ । खुर्कोट रामेछाप जोड़ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा बेलिव्रिज जडान गर्ने काममा नेपाली सेना र प्राविधिकहरुले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो । तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा ग़रेर आलोचनाका लागि आलोचनामा केन्द्रीत छ” महासचिव पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ९ : ३२ बजे