सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रिय गौरवको आयोजना तिनाउ–दानव कोरिडोरको काम अनिश्चित, स्थानीयको अवरोध जारी

बुटवल । महत्त्वाकाङ्क्षी परियोजना मानिएको तिनाउ दानव कोरिडोरको काम अनिश्चित बनेको छ ।

गत वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको काम २५ प्रतिशत पनि पूरा नहुँदै अवरोध हुन थालेपछि अनिश्चित बनेको हो । 

यो मुलुकको राष्ट्रिय गौरवको आयोजना हो । यसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी तिनाउ र दानव नदीको दुवैतर्फ बाइपास सडक बनाउने छ । 

एकातिर स्थानीयको अवरोध र अर्कोतर्फ सडकले जग्गा मिचेको भन्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले उच्च अदालत तुलसीपुरमा दायर गरेको मुद्दामा अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आयोजना अगाडि बढ्नेमा अन्यौल भएको हो । 

हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले बुटवल–१३ मा सडकले आफ्नो जग्गा मिचेको भन्दै मुद्दा हालेको थियो । त्यस्तै, स्थानीय टेकबहादुर श्रेष्ठले पनि बुटवल–१४ मा आफ्नो जग्गा मिचिएको भन्दै दायर रिटमा पनि अदालतले अन्तरिम आदेश दिएको थियो । दुवै मुद्दाको  अन्तिम किनारा नलागेसम्म निर्माणको काम अन्यौलमा पर्ने देखिएको छ ।

पुस ४ गतेदेखि आन्दोलन सुरु गरेका स्थानीयले अहिले पनि आफ्ना कार्यक्रम जारी राखेका छन् । आफूहरूलाई विकल्प दिएर मात्र आयोजना अघि बढाउन माग गर्दै स्थानीयले हरेक दिन जसो प्रदर्शन गरेका थिए ।

स्थानीयले आयोजना अघि बढे आफूहरूको उठीबास हुने भन्दै अवरोध सिर्जना गरेकाले निर्माणको काम अहिले अवरुद्ध छ । तिनाउ र दानव नदी छेउमा तटबन्धसहितको कोरिडोर निर्माणका लागि गत वर्षदेखि सरकारले काम सुरु गरेको थियो । 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको यो आयोजना मुलुककै नमुनाको रूपमा रहेको छ । 

यो आयोजनाले तिनाउ र दानव कोरिडोर सडक निर्माणले बुटवलदेखि मर्चवार सम्मलाई जोड्ने छ । दुवै नदीमा नगरी करिब ५० किलोमिटर पर्ने आयोजनाका लागि चार अर्ब १३ करोडको लागत अनुमान गरी पहिलो चरणमा एक अर्ब ३५ करोड रकम छुट्टयाइएको थियो । तर स्थानीयले कोरिडोरबाट क्षति हुने घर जग्गाधनीहरूलाई उचित ठाउँमा व्यवस्थापन नगरेसम्म र उचित क्षतिपूर्ति नदिएसम्म आयोजना अघि बढ्न नदिने भन्दै सङ्घर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । जसका कारण आयोजना अन्यौलमा परेको हो । 

सङ्घर्ष समितिका अध्यक्ष आत्मराम रानाले आफूहरूको उचित व्यवस्थापन र क्षतिपूर्ति नदिएसम्म काममा अवरोध गरिने बताउनुभयो ।

डिभिजन सडक कार्यालय बुटवलका अनुसार अहिलेसम्म बस्ती नभएको क्षेत्रमा करिब २० प्रतिशत काम सकिएको छ । “स्थानीयको अवरोध नहुने हो भने चालु वर्षमै धेरै काम गर्न सकिन्छ, तर अवरोधका कारण आयोजना लम्बिने सङ्केत देखिएको छ”–डिभिजन प्रमुख जयलाल मरासिनीले भन्नुभयो ।

आयोजना अगाडि बढाउँदा स्थानीयलाई नहटाइने, बस्ती भएको ठाउँमा उनीहरूको व्यवस्थापन गर्ने जानकारी आफूहरूले स्थानीयलाई दिएको तर पनि स्थानीयले अवरोध जारी राख्दा काममा बाधा पुगेको उहाँले बताउनुभयो । 

“विकासका काममा राजनीति गरेको जस्तो देखिएको छ, यसरी आयोजना अगाडि बढाउन समस्या हुन्छ, विकास निर्माणको अवरोधले स्थानीयलाई नै फाइदा गर्दैन”–उहाँले भन्नुभयो ।

डिपिआर भइसकेको मध्ये पहिलो चरणमा तिनाउतर्फ आठ र दानव नदीतर्फ तीन किलोमिटर सडक निर्माणको लागि गत वर्ष ठेक्का सम्झौता भएको थियो । नदी किनारमा विकास भइरहेका मानव बस्ती तथा ठुला सहरहरूलाई जोड्ने तथा यातायातको सहज पहुँच वृद्धि गर्ने यो आयोजनाको उद्देश्य छ । 

तिनाउ कोरिडोर अन्तर्गत जिरो प्वाइन्ट(तिनाउ र दानव नदी छुट्टिएको ठाउँ)देखि मगर घाटसम्मको नदी किनारको दुवैतर्फ सडक निर्माण हुनेछ । पहिलो चरणको ठेक्का ३६ महिनामा काम सक्ने गरी किराँतेश्वर मैनाचुली अविसा जेवीले पाएको छ । 

दानव कोरिडोरमा बेलबासको झोलुङ्गे पुलदेखि नयाँ गाउँसम्म सडक निर्माण हुनेछ । २७ महिनामा काम सक्ने गरी यसको १९ करोड ४२ लाख रुपियाँमा लामा बानियाँ जेबीसँग सम्झौता भई काम सुरु भएको छ । २२ मिटर चौडाइको सडक क्षेत्रमध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात् रुखहरू रोपेर हरियाली बनाइने र बाँकीमा १२ मिटर सडक संरचना हुनेछ । सात मिटर कालोपत्रेले समेट्ने छ । सडकको दुवै किनारमा दुई–दुई मिटरको फुटपाथ हुनेछ । आधा आधा मिटरको नाली हुने छ ।

सडक निर्माणका क्रममा ५५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमिन, ०.४० हेक्टर अस्थायी जमिन, १४७ वटा विद्युत् पोल, कृषि कुलो दुई हजार मिटर र मठ मन्दिर १२ वटा प्रभावित हुने डिपिआरमा उल्लेख छ । 

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : २४ बजे