बगेर खेर गइरहेछ भोटको नुन

एमाले पार्टी कार्यालय शिलान्यास र बुद्धिविलास गर्नेको मसला

केही बुद्धि विलास गर्नेहरुले राम्रै काम पाएका छन् । त्यसमा पनि सत्ता सहकार्य गरिरहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले पनि मौका छोपेरै बुद्धि विलास गर्नु भएको छ । उहाँले राम्रै ढंगले नेकपा एमालेलाई पढाउन खोज्नु भएको छ । उहाँले कार्यालय भवन बनाउन कार्यकर्ताले योगदान गर्न पाउनु पर्ने प्रवचन सुनाउनु भएको छ । शर्माले प्रवचन दिनुहुँदै ‘भवन बलियो भावनाहरु गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ, भनेर प्रत्येक सदस्यले अपनत्व ग्रहण गर्न पाउनुपर्छ’ भन्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले जग्गादान भनिएको घटनालाई दान होइन, ‘संगठित भ्रष्टाचारको पछिल्लो अभ्यास’ भन्न रुचाउँछु भन्नु भएछ । उहाँले भन्नु भएछ, ‘यति ठूलो सहयोग दिनासाथ राज्यका नीतिनियमहरू प्रभावित हुनेभए । भोलि मीनबहादुरले जे मागे, राज्यले त्यही दिने अवस्था बन्यो ।’ उहाँले राज्यको सबै अंगको हैसियत समाप्त पार्दै भन्नु भएछ, ‘अख्तियार, अदालत सबैतिर एमालेको पकड छ । अब सबै निकायबाट उनीमाथि हुने काम कारबाही प्रभावित हुने खतरा रहन्छ ।’ होइन, यो त सहकारीको रकम अर्कैको नामबाट झिकेर आफ्नो शेयरमा जम्मा गरेर कम्पनीको मेनेजिङ डाइरेक्टर भएर चेक काट्दै जनताको पैसा नतिरेर बदमासी गरेको पनि होइन । तर, आफ्नै अध्यक्षलाई लागेको आरोप अर्थशास्त्रीले कसरी प्रमाणित गर्नुहुन्छ त्यो त हेर्न बाँकी नै छ । फेर अर्कोकुरा डाक्टर साहेव जस्तो बुद्धिजवी त म परिन । तर, उहाँले राज्यका सबै संवैधानिक निकाय प्रधानमन्त्रीको पकडमा छ भनेर भन्दा अन्य निकायहरुको मान हानी भयो कि भएन ? श्रीमानहरुले खुट्टयाउने विषय भएकोले मैले यस मामिलामा बोल्न चाहिन । तर, के भन्न चाहन्छु भने डाक्टर साहेवहरुले राज्य सञ्चालनको कस्तो विधि बनाउनु भएको रहेछ ? यस्तो जग हँसाउने कुरा किन आउँदैछ विद्वान महोदयबाट ।

पूर्वसचिव गोपीनाथ मैनालीको आरोप पनि यस्तै देखिएको छ, विगतमा विभिन्न मुद्दा र आरोपको सामना गरेका गुरुङले टिचिङ अस्पताल, बाल अस्पताल निर्माण लगायतमा गरेको सहयोगमा कसैले प्रश्न उठाएको थिएन । ‘अरु राजनीतिक दललाई पनि बेलाबेलामा सहयोग गरेको’ भनी अभिव्यक्ति दिएर उनले यसपटक सत्तारुढ एमालेको मुख्यालय बनाइदिने घोषणा गरे । मैनाली भन्नुहुन्छ, ‘तर राजनीतिक दलहरूमा अस्वाभाविक रूपमा भएको लगानीलाई सामाजिक समर्थन पाउने देखिंदैन । यसले नेपाली समाजमा नकारात्मक प्रवृत्ति फस्टाउने भयो ।’ पूर्व सचिव जस्तो राज्यको जिम्मेवार ठाउँमा काम गरेर आएको व्यक्तिले दिएको अभिव्यक्ति सुन्दा पनि अचम्म लाग्छ । विभिन्न आरोप लागेको दाताले राज्यको औपचारिक निकायलाई सहयोग गर्दा केही नहुने तर त्यही दाताले एउटा जिम्मेवार पार्टीलाई सहयोग गर्दा नकारात्मक प्रवृत्ति फस्टाउने कुरा व्यक्तिको सोचमा हो भन्ने कुरा प्रष्टै बुभ्mन सकिन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्न केही मानिसहरु रुचाउँछन् । उनीहरु अलिकति, केही ठाउँ पाउनासाथ ओलीको आलोचना गर्न तम्सिन्छन । उनीहरुलाई ओलीको आलोचना गर्न पाउँदा आफूलाई आनन्द प्राप्त भएको महसूस गर्छन् । नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको प्रसंगमा पनि यस्तै भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ । विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८ औँ बैठकले संस्थागत रुपमा स्वीकार गरी उहाँलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिक रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्यास गरी सक्नु भएको छ ।

जग्गादाता गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैङ्क लिमिटेडमा कार्यरत रहँदा बैङ्किङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रहेको तथ्य जगजाहेर भएको एमालेले प्रष्ट पारेको छ । सायद विश्वप्रकाश शर्माजीलाई यति जवाफ पर्याप्त नै हुन्छ होला ।

नेकपा एमालेको केन्द्रीय कार्यालय कीर्तिपुर नगरपालिका वडा नं. २ मा भएको शिलान्यास सन्दर्भमा जम्मा कुरा यति हुन् । नेकपा एमालेले पार्टीका सबै सदस्यहरुलाई रु. एक सय लेवी तोकी सकेको छ । धेरै सदस्यहरुले नविकरण गर्दा रकम बुझाई पनि सकेका छन् । नेकपा एमालेको हरेक कार्यमा कार्यकर्ताको मात्र होइन्, आम जनताको साथ सहयोग लिइरहेको छ । र त एमाले जहिले पनि जनताको समस्यामा पहिलो दाता भएर विपद व्यवस्थापन जस्तो अत्यासलाग्दो अवस्थामा पनि अगाडि उभिन्छ । एमालेले लिएको यो सहयोग गैर कानुनी अराजनैतिक भन्दै पुष्टि गर्न खोजिएको छ । जबकी एमालेले पार्टीको निर्णयबाटै पारदर्शी ढंगले यसलाई स्वीकार गरेको छ । त्यसमा पनि पार्टीका सहयोगी शुभचिन्तकबाट होइन पार्टीकै कार्यकर्ताबाट लिएको सहयोगलाई किन कोकोहोलो मच्चाइएको हो ? स्पष्ट छ, यो विरोध नेकपा एमाले र अध्यक्ष ओलीप्रति नै लक्षित छ । ती व्यक्तिहरु जसले यो कार्यको विरोध गर्दै देशको सुशासन कस्तो हुने ? अब देश सकियो ? अराजकता मौलाउने भो भनेर कुर्लिरहेका छन् । उहाँहरुलाई आफ्नो धरातल हेर्न म अनुरोध गर्दछु ।

नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण हुँदा नेपाली समाज मै नकारात्मक सन्देश फैलाउने भो भनेर कुनै बुद्धिविलासकर्ताले यस्तो अभिव्यक्ति दिएका छन् । यी भनाई आफै कति पूर्वाग्रही छन् आफै विश्लेषण गर्दा राम्रो हुन्छ । नेपालमा मात्रै होइन विश्वका कुनै पनि देशमा राजनीतिक दलहरुले हरेक महत्वपूर्ण कार्यमा सहयोग लिने नै गरेका छन् । अझ राजनीतिक पार्टीले मात्र होइन सरकारले नै विदेशी दातृसंस्थाहरुबाट पनि सहयोग लिने गरेका छन् । नेपालकै सन्दर्भमा कुरा गर्ने होभने नेपालको राजनीतिक दल मात्र होइन राज्यका महत्वपूर्ण अंगहरु बसेको कार्यालयहरु पनि दानबाट लिने गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले मात्रै होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, मधेशवादी दललगायत सबै राजनीतिक दलहरु मात्रै होइन, सरकार र राज्यका सबै अंगहरुले विभिन्न दातृ संस्था वा अन्य निकायबाट सहयोग लिने गरेका छन् । के उनीहरुले दिएको सहयोगवापद राज्यका सबै अंगले दातालाई संविधानभन्दा माथि राखेर काम गर्छन ? हामीले राज्य सञ्चालनको कस्तो संयन्त्र बनाइरहेका छौं ? एक पटक घोत्लिन जरुरी छ, महोदय !

बुद्धि विलास गर्नेहरुको भनाई हेर्दा नेकपा एमालेले मात्रै सहयोग लिनु हुँदैन । एमालेको कुनै कुरा मन नपर्नेहरुले गरेको जस्तो टिप्पणी गरेको पाइयो । यस प्रकारको टिप्पणी गर्नेहरु पार्टी बाहिर मात्र होइन पार्टी भित्रका एकाध बुद्धि विलास गर्नेहरुबाट पनि यस्तो अभिव्यक्ति बाहिर आएको छ । एमाले भित्रको कुरा एमाले आफैले बुझ्न जरुरी छ ।

तपाईहरुले यो टिप्पणी पढ्दै गर्दा तपाईको बजार, सरकारी कार्यालयहरु– जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय, अदालत, नेपाल प्रहरीको कार्यालयहरु, सशस्त्र प्रहरीको कार्यालयहरु, सीमा सुरक्षा बेश क्याम्प, सेनाका व्यारेकहरु, बसपार्क, बगैचा, विद्यालय, क्याम्पस, खेलमैदान, अस्पतालहरु, स्थानीय तहका कार्यालयहरु वडा कार्यालयहरु यी सबै राज्यका सेवा प्रदायक केन्द्रहरु हुन् । यी केन्द्रहरुमध्ये कुनै न कुनै भवनका जग्गा जनताबाट नै प्राप्त गरेको अवस्था छ ।

झापाकै कुरा गर्नेहोभने बिर्तामोडको चर्चित खेलमैदान डोमालाल रंगशाला, भद्रपुरको प्रहरी कार्यालयहरु, बिओपी सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयहरु, भद्रपुर हाइस्कूल, बीरेन्द्र उच्च मावि, झापा कागार, बाह्रदशी, कचनकवल गाउँपालिका, दमक बहुमुखी क्याम्पस, गौरादह नगरपालिका यस्ता धेरै कार्यालयका जग्गाहरु स्थानीय दाताहरुले नै प्रदान गरेका छन् । स्व. देवीप्रसाद उप्रेती झापाका दानवीर हुनुहुन्छ । उहाँले झापा अधिकांश विद्यालय तथा शिक्षालयहरुमा जग्गा दान गर्नु भएको छ । झापा चन्द्रगढीका घननाथ राजवंशी, कौवा राजवंशी, कलिन्द्र राजवंशी,काली प्रसाद, काशीलाल र शोभित गणेश, स्वयम्भूलाल श्रेष्ठ, चिन्तामणि खरेल, नन्द प्रसाई, डिल्ली सिटौला पनि झापाका जग्गा दातामा पर्नु हुन्छ, अझ कतिपय जग्गादाताहरुकै नामबाट इकाईहरु सञ्चालन भएका छन् । दाता डिल्लीराज गणेशको नामबाट डिल्लीराज मावि सञ्चालन भइरहेको छ । दाता डोमालाल राजवंशीको नामबाट डोमालाल रंगशाला सञ्चालनमा आएको छ । यी त झापाका पनि प्रतिनिधि मुलक घटनाहरु हुन् । नेपाली कांग्रेसको झापाको जिल्ला पार्टी कार्यालयदेखि पालिका समितिको कार्यालयसम्म जग्गादेखि निर्माणसम्मको कार्यमा कार्यकर्ता वा सहयोगीहरुको हात रहेको छ । त्यस्तै एमाले वा राप्रपा माओवादी सबैको केन्द्रीय कार्यालयदेखि वडा तहसम्मका कार्यालयमा पार्टीको मात्रै लगानी छैन ।

देशैभरी हेर्ने होभने यस्ता धेरै घटनाहरु पाइन्छ । त्यो किन पनि हो भने नेपालको विकास निर्माणको योजना बनाउने राष्ट्रिय योजना आयोगले कुनै कार्यालय वा नयाँ कुनै कामको लागि भवन निर्माण गर्नको लागि जग्गा खरिद गर्न अहिलेसम्म बजेट छुट्टयाएको छैन । जब देशकै विकास निर्माणको काम गर्ने योजना आयोगले सरकारी कामको लागि जग्गा खरिदको शीर्षक नै राखेको छैन । मागेरै वा दान लिएरै सञ्चालन गर्ने योजनामा छभने राजनीतिक दलले जग्गा दानमा पाए वा लिए भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन ।

मिनबहादुर गुरुङले आफूले रुझान राख्ने पार्टीलाई सहयोग गरे वापतमा उहाँमाथि अनेक आरोप थोपर्नुको कुनै अर्थ देखिन्न र बरु नेपालको राज्य संयन्त्र यति कमजोर छ भनेर जग हँसाउनु बाहेक केही देखिन्न । गुरुङका केही कुनै गलत काम भए राज्ययन्त्रले नियन्त्रण मै राखेर काम गरिरहेको छ । बरु उहाँले नेपालका विभिन्न स्थानमा व्यवसाय खोलेर सिर्जना गरेको रोजगारी, बजार चलायमान गरेको अवस्था, नेपाली उत्पादनहरुलाई बजारीकरण गरेको अवस्था नियाल्ने होभने उहाँको योगदानको पनि उल्लेख्य चर्चा गर्ने ठाउँ छ । किन विरोधका लागि विरोध गर्दै एउटा सक्षम व्यवसायीको तेजोबध गरेर स्थितिलाई धमिलो बनाउन खोजिदैछ ? आफूलाई जिम्मेवार ठान्नेहरुले गम्भीर हुन जरुरी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, पूर्वसचिव गोपीनाथ मैनालीको आरोपलाई मध्यनजर गर्ने होभने दाताले दिएको जग्गामा बनेको कार्यालयले दाताको पक्षमा मात्रै काम गर्छ भन्नु आफ्नो बुद्धिविलासको पनि दिवालियापन देखिन्छ । सरकारी कार्यालयहरु, प्रहरी, पालिकाहरु, वडा कार्यालयहरु, शिक्षालयहरु, अदालत, कारागार, जिल्ला प्रशासन कार्यालयहरु कुनै पनि कार्यालयहरु आफ्नो नीतिमा छैनन् भन्न खोजेको हो ? कि जनताले डाक्टर साहेव र पूर्व सचिव विद्वानहरुले भन्नु भएको ठीकै हो भनेर बुझ्नु पर्ने हो ?

जहाँसम्म नेकपा एमालेको प्रश्न छ, नेकपा एमाले मात्रै त्यस्तो पार्टी हो, अहिलेको परिदृष्यमा नैतिक धरातलमा उभिएर काम गरिरहेको छ । एमालेले कहिल्यै प्लेन हाइज्याक गरेर देशको पैसा लुटेन । न त जनताले जम्मा गरेको रकम भएको बैक लुटेर लगेको छ । न त सहकारीमा जनताले राखेको रकमलाई अर्कैको नामबाट झिकेर अपचलन गरे वापत पक्राउ परेकाहरुलाई संरक्षण नै गरेको छ । एमालेको बृत्तमा रहेका र भ्रष्टाचारको आरोप मात्रै लागेका पनि कुनै नेताहरुलाई तत्कालै निलम्बन गरी नियमन निकायलाई सहजता प्रदान गरेको छ । अदालतमा हत्याको आरोप लागेकालाई सभामुख वा मन्त्री बनाउने काम एमालेले गरेको छैन् । भ्रष्टाचार मुद्दामा जेल चलान भएकालाई पार्टीको केन्द्रीय ईकाइमा राखी राखेको अवस्था पनि एमालेमा छैन् । बरु त्यस्तो अवस्था आए तत्काल पार्टीबाट निलम्बन गरी कार्वाहीको लागि मार्ग प्रसस्त गरेको छ । त्यसकारणले त नेकपा एमाले जनताको माझमा स्थापित पार्टी हो ।

नेकपा एमालेलाई प्राप्त भएको सहयोगले देशको एउटा इमान्दार, कर्तव्यनिष्ट, वैचारिक, संगठनात्मक संरचनामा सक्षम र उर्जाशील पार्टीलाई भएको सहयोग उचित र जायज छ । यसमा एमाले पंक्तिभित्र र बाहिर सबैले शीर उठाउने काम भएको छ । आज नेकपा एमालेले मिनबहादुर गुरुङ र सावित्री गुरुङले गरेको सहयोगलाई लेनदेनसँग जोडेर व्याख्या गरिदैछ । नेपालले भारतसँग वा चीन वा अमेरिका वा अन्य देशबाट लिएको सहयोगलाई उद्देश्यमुलक लेनदेन वा सौदाबाजीको दृष्टिले मात्रै हेर्ने होभने विश्व नै चल्दैन । त्यसकारण एमालेलाई सहयोग दिएको हो त्यसैले सबै दोष माफ हुन्छ भनेर व्याख्या गर्ने तत्वहरुले राज्यको कार्य क्षमता कमजोर छ, जसले जे गरे पनि हुन्छ, भनेर नेकपा एमालेबो बदनाम गर्ने र जनतामा निराशा ल्याउने काम बाहेक केही होइन् । हुन त नेपाली सञ्चार क्षेत्रमा लगानीकर्तालाई पत्रकार भनिन्छ, किर्ते नागरिकता लिएको अभियोगमा पक्राउ परेकालाई समाचार लेखेको भनिन्छ, ठूला मिडिया हाउसका सञ्चालकहरुले अर्थमन्त्रीसँगै बार्गेनिङ्ग गर्दा लोकतन्त्रका पहरेदार भनेर समाचार पस्किने हाम्रो समाजको चरित्र छ । यस्तो अवस्थामा सूचनाहरुलाई पनि सरक्कै आधार मान्नुको कुनै अर्थ पनि देखिन्न ।

त्यसकारण, कुनै दाताले सहयोग गरेकै आधारमा उसको सबै कुरा मान्न सहयोग पाउने बाध्य हुने छैन । यति सामान्य कुरालाई भयाभय बनाउनु बुद्धि विलास गर्नेहरुको नियतमा खोट हो भनेर कसैले भन्यो भने बेठीक हुने छैन । त्यसैले फोहोरी खेल बन्द गरौं कसैलाई फाइदा हुने छैन । बरु मिनबहादुर गुरुङजस्ता हजारौं उद्यमी तथा व्यवसायीहरु देशमा स्थापित गरौं र उहाँहरुलाई राष्ट्र निर्माणमा प्रेरित गरौं ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २३ बजे