हिउँमा फसेका बाबुछोराको उउद्धारका लागि हेलिकप्टर पठाउने तयारी

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । 

चौँरी गोठ सार्ने क्रममा फसेका उनीहरूलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो । 

अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए । 

वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरू ओडार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिवार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । 

उनीहरूको उद्धारका लागि शुक्रवार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण स्थानीय बिच बाटोबाट नै फर्किएको बताइएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ०० बजे