समाजले परिभाषित गरेको प्रगति तिम्रो,
म चुपचाप कसरी सहुँ ?
कुन आमाले मुख फोरेर भन्लिन् र ?
बाबु तिमिलाई देखेर म निकै दुःखी छु ।
पल्ला घरे कान्छा,
फोनमा तिम्रो फोटो देखाउँछ,
विवशतामा रन्थनिएको मातृवात्सल्य,
तिम्रा आँखाले गुहार मागेझैँ देख्छ,
विदेशी भूमिको दुखी पोख्दै मेरो फोटो राख्छौ अरे,
सञ्जालमा,
भाषा फेरेछौ, भेष फेरेछौ,
दुख सुनिदिने कोही छैनन् भनी दुनियाँलाई सुनाउँछौ अरे ।
तिमीलाई मैले लगाएको रातो फरिया र निलो पटुकी मन पर्दैन थियो,
तिम्रो टाउको मुसारिदिँदा मेरा फुटेका हातले तिमीलाई बिझाउँथ्यो,
ऋण काडेर सहर पठाउँदा तिमिलाई पैसामा पनि गाउँको हस्को आउँथ्यो,
अरूले छरिदिएका अत्तरमा मगमग बसाउन तिमी गयौ,
संस्कारलाई गरिबीको संज्ञा दिई परचक्रीको दास बन्न गयौ,
युद्धमा नहारेका, गुलामी नगरेका हामी,
तिमी स्वतःस्फूर्त गुलाम बन्न गयौ ।
क्रोधले म के पो गर्न सक्छु ?
ती माटोका डल्लालाई तिम्रो अहम् सम्झेर सके जति फुटाउँछु,
चाहिने आखिरमा घर नै हो बाबु,
त्यो पसिना बरु यही जमिनमा चुहाऊ,
काँधमा आफ्नै देशको भार बोक,
म सुन्ने छु तिमिलाई, तिमी पनि मलाई सुनिदेऊ ।
जीवन भनेकै सङ्घर्षबाट आर्जित सफलता हो,
आऊ हामी आत्मनिर्भर बनौँ,
पराइलाई हाम्रो माटो उपहार दिउँला,
फर्किआऊ छोरा अबेर भइसक्यो,
देखावटीमा नबिलाऊ, खोक्रो भइसक्यौ,
समाजले देखेको तिम्रो प्रगतिलाई म कदापि स्वीकार्दिनँ,
गह्रुँगो गरी शिर उठाउन खोजेको देख्दा तिमीले,
हो छोरा म निकै दुःखी छु ।
प्रकाशित मिति : १७ पुस २०७८, शनिबार ९ : १८ बजे
प्रतिक्रिया