राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका नौ जनाको नाम सिफारिस

कर्णाली । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले)ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 

एमाले कर्णाली प्रदेश कमिटीको शुक्रवार सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । 

तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालिकोटका हिरे सुनार छन् । 

महिला कलस्टरबाट जुम्लाकी गङ्गा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रूपबहादुर बुढा, कालिकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम पठाइएको छ । 

पार्टी केन्द्रले प्रदेशबाट प्रत्येक कलस्टरमा तीन/तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो ।  रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : ०५ बजे