प्रधानमन्त्री र बिपक्षीबीच एक घण्टा सवाल जवाफ

विपक्षीः राजनीति दलसम्बन्धी अध्यादेश के हो?, प्रधानमन्त्रीः कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन

काठमाडौं। सरकारले बाढी पीडितको पहिलो चरणको उद्धार गरिसकेपछि प्रमुख प्रतिपक्ष दल लगायतका बिपक्षी दलहरु ज्ञापन पत्र बोकेर सोमबार प्रधानमन्त्री कार्यालय पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकता पूर्वक उनीहरुलाई स्वागत गर्दै ज्ञापन पत्र दिएकोमा धन्यवाद समेत प्रकट गर्नुभयो। करिव एक घण्टाको सो भेट वार्तामा धेरै सवाल जवाफ भए। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लहाकार बिष्णु रिमालले आफ्नो फेसबुक वालमा त्यहाँ भएको यस्ता सवाल जवाफलाई यसरी लेख्नु भएको छ –

विपक्षी दल र प्रधानमन्त्रीबीचको संवाद

विपक्षः पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ?

प्रधानमन्त्रीः मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।

विपक्षः पूर्वाग्रह, तानाशाही‘ ?

प्रधानमन्त्रीः अहिले कतिपय ठाउँमा मलाई “तानाशाह” भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।

मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।

विपक्षः राजनीति दलसम्बन्धी अध्यादेश‘ ?

प्रधानमन्त्रीः विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।

विपक्षः विपद् र राहतको विषय?

प्रधानमन्त्रीः मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको छ। यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : २४ बजे