बाढीको स्थितिमा सुधार

युवा सहर पलायन भएपछि एमालेले बनायो महाकाल–उपत्यका सम्पर्क कमिटी

ललितपुर । ललितपुरबाट युवा काठमाडौँ सहर पलायन भएपछि नेकपा एमाले ललितपुरले उपत्यका सम्पर्क कमिटी बनाएको छ । 

एमाले स्थायी कमिटी सदस्य सुशीला नेपालले दक्षिण ललितपुरमा बसोबास गर्ने बासिन्दाको काठमाडौँ उपत्यकामा बाहुल्य भएपछि पार्टीलाई थप मजबुत बनाउन सम्पर्क कमिटी बनाउन जरुरी परेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका युवा सबैजसो सहरमा छन् । उनीहरूलाई सम्पर्क कमिटीमार्फत सङ्गठित गर्न सके पार्टी थप मजबुत हुन्छ ।”

दक्षिण ललितपुरको महाकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले आफ्नो घर करेसामा सडक पुगेपछि त्यही बाटो हुँदै झिटी बोकेर गाउँपालिकाबाट बसाइँ सर्ने क्रम बढेको बताउनुभयो  । उहाँले भन्नुभयो,  “यहाँ सहरको सबै सुविधा छ, गाउँमै क्याम्पस बोर्डिङ स्कुल छ । तर कोही बस्न मान्दैन ।”

उहाँले दक्षिण ललितपुरका २५ सय घरमध्ये सबै जसो घरमा पानीको धारा पुगेको, सबै घरमा बिजुली बत्ती पुगेको र गाउँपालिकाले सित्तैमा इन्डिक्सन चुल्हो बाँडेको बताए । उहाँका अनुसार गाउँमा रोजगारी अवसर र सुविधा सबै भए पनि २५ प्रतिशत सहर पसेका छन् । 

सङ्घीय सांसद नवराज सिलवालले गोटिखेलबाट चापागाँउ सडक राम्रो बनेमा एक घण्टामै आउन सकिने बताउनुभयो ।  उहाँले भन्नुभयो,“‘हामीले यस भेगमा सडक राम्रो बनाउन बाँकी छ । त्यसपछि गोटिखेल क्षेत्रका स्थानीयलाई सहरबाट फर्काउन सकिएला ।”

प्रदेश सांसद चेतनाथ सञ्जेलले लेले चन्दनपुर सडकलाई बहुवर्षीय ठेक्कामा लगाएर सडक निर्माणको तयारी भइरहेको बताउनुभयो।

केही वर्षअघि दक्षिण ललितपुर उपत्यका सम्पर्क कमिटी निर्माण गरिएको भए पनि काठमाडौँ उपत्यकामा महाकाल गाउँपालिकाका युवाको सङ्ख्या दिनदिनै बढ्न थालेपछि सम्पर्क कमिटी जरुरी बनेको हो । 

आर के घलानको अध्यक्षता एमाले महाकाल उपत्यका सम्पर्क कमिटी गठन भएको हो ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : १८ बजे