काठमाडौं । सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौँबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ३ दिन थुनामा राख्न कास्की अदालतले अनुमति दिएको छ । न्यायाधीश नवराज दाहालको एकल इजलासले यस्तो अनुमति दिएको हो।
सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
शुक्रबार काठमाडौँबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि रविलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
कास्कीको सूर्य दर्शन लगायत बिभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्क मार्फत अपचलन भएको भन्दै सहकारी ठगी तथा छानबिन संसदीय बिशेष समितिले उनी लगायतलाई कारबाहीको सिफारिस गरेको थियो।
रविलाई पक्राउ गरेर कास्की अदालतमा पेस गर्ने क्रममा रास्वपाका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका थिए। सो क्रममा सामान्य झडप भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र सहकारी पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
जिल्ला अदालत कास्कीकै अनुमतिमा उनलाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो । रविकै आग्रह अनुसार उनलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा ल्याइएको थियो ।
शनिबार दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले दिनभरजसो पोखरामा प्रदर्शन गरे । सबैजसो नेताहरु पोखरा आइपुगेका छन् । सहकारी पीडितले समेत पोखरामा शनिबार प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीका ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको छ ।
गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् ।
प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ५ : २९ बजे
प्रतिक्रिया