धरहराबाट उपत्यका नियाल्ने रहर

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी

काठमाडौं । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएसँगै वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।

आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यस यामको सिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अष्टे«लियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गरेको छ ।

निकुञ्जका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएको बुझिएको छ । विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । जस्तै नाउरको रु एक लाख ५० हजार र झारलको रु ७५ हजार र बँदेलको रु १० हजार न्यूनतम राजस्व तोकिएको छ ।

न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी रु १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको थियो ।

त्यसो त सिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको सिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् ।

यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ ।

स्मरण रहोस् विभागले यस वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ३७ बजे