सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतमा फेरि बढे कोभिड सङ्क्रमित, दैनिक १० हजार जनामा सङ्क्रमण पुष्टि

नयाँ दिल्ली । भारतमा देशव्यापी कोभिड सङ्क्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड सङ्क्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

“समग्रमा २२ राज्यमा सङ्क्रमण फैलिएको  छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभअग्रवालले भन्नुभयो । उहाँका अनुसार भारतमा अहिले औसतमा दैनिक १० हजार सङ्क्रमित भेटिएका छन् । 

केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार १ सय ५४ जनामा कोभिड सङ्क्रमण देखिएको थियो । 

“पछिल्लो समयमा प्रष्ट रूपमा कोभिड सङ्क्रमित बढेको देखेका छौ । दिल्लीमा दिनहुँ दैनिक सङ्क्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ” स्वास्थ्य मन्त्रालयले भनेको छ ।  तर कोभिड सङ्क्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ । 

कोभिडको नयाँ सङ्क्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड सङ्क्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ । 

भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले सङ्क्रमित बढेका छन् । 

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : ०८ बजे