एमाले रुपन्देहीको नेतृत्वका लागि आधा दर्जन आकांक्षी

बुटवल – नेकपा एमाले रुपन्देहीको नेतृत्वका लागि सात जनाले दाबी प्रस्तुत गरेका छन् । जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीहरूले आन्तरिक छलफल र भेटघाटलाई तीव्र बनाएका छन् । 

केन्द्रीय नेताहरूको प्रभाव रहेको रुपन्देहीमा नेतृत्व हात पार्न आकांक्षीहरू नेताहरूसँग लबिङसमेत थालेका छन् । रुपन्देही एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र स्थायी समिति सदस्य घनश्याम भुसालको गृहजिल्ला हो ।

एमालेको जिल्ला अधिवेशन यही पुस २३ गते हुँदैछ । त्यसअघि पुस १७ गते अधिवेशनका लागि प्रतिनिधि छनोट गरिने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदी पार्टीको केन्द्रीय सदस्य मनोनीत भएपछि उनी दोहोरिने सम्भावना लगभग अन्त्य भएको छ ।

हाल जिल्ला कमिटीका उपाध्यक्ष रहेका पुरुषोत्तम घिमिरे आफू स्वाभाविक दाबेदार रहेको तर्क गर्छन् । 'उपाध्यक्ष भएको हिसाबले अध्यक्षका लागि म स्वाभाविक दाबेदार हो, साथीहरूको सहयोग पाएमा एक कार्यकाल पार्टीलाई बलियो नेतृत्व दिन तयार छु,' उनले भने । उनी घनश्याम भुसालका विश्वासपात्र मानिन्छन् ।

यसअघि माधव नेपाल समूहमा रहेका उनी पार्टी विवादका बेला तटस्थ बसेका थिए । माधव नेपाल समूह पार्टीबाट अलग भए पनि उनी एमालेमै बसेका हुन् । एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले घिमिरेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेको उनी निकट एक कार्यकर्ताले बताए ।

त्यस्तै एमाले जिल्ला कार्यालय सदस्य रहेको तेजेन्द्र केसी नेतृत्वका लागि अर्का बलिया दाबेदार हुन् । केसीले एमाले र माओवादी एकतापछि बनेको नेकपामा जिल्ला कमिटीको सहसंयोजकको  भूमिका पाएका थिए । 'पार्टी एकीकरण हुँदा सहसंयोजकको भूमिका कुशलतापूवर्क निर्वाह गरेकाले मेरो दाबेदारी स्वाभाविक हो,' उनले भने ।

त्यस्तै एमाले रुपन्देहीका उपसचिव रहेका गोपाल राना पनि अध्यक्षका आकांक्षी हुन् । यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने आकाङ्क्षा राखेका उनी शिवराज सुवेदीले टिकट पाएसँगै उनीपछि हट्न बाध्य भएका थिए । यद्यपि अबको निर्वाचनमा उपमहानगर प्रमुखको उम्मेदवारी बनाएमा भने उनी नेतृत्वबाट पछि हट्न सक्ने आकलन गरिएको छ ।

त्यसैगरी तिलोत्तमा नगरपालिकाका प्रमुख रहेका वासुदेव घिमिरेले पनि जिल्ला अध्यक्षका लागि आकाङ्क्षा देखाएका छन् । तिलोत्तमा नगरपालिकालाई विकासमा नमुना बनाएको भनेर चर्चामा आएका घिमिरे पनि बलिया प्रतिस्पर्धी हुन् ।

त्यसैगरी एमाले जिल्ला सचिवालय सदस्य हितराज पन्थी, नेता बलबहादुर आचार्य र यज्ञ गैरे पनि अध्यक्षका आकांक्षी हुन् । पार्टी नेतृत्वले भने सकेसम्म जिल्ला नेतृत्व सर्वसम्मत टुंग्याउने गरी गृहकार्य गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ४६ बजे