तुल्सी लाल स्मृति प्रतिष्ठानको २१ ओैँ साधारण सभा सम्पन्न 

अध्यक्षमा गोपाल शाक्य निर्वाचित 

काठमाडौं । तुल्सी लाल स्मृति प्रतिष्ठानको २१ ओैँ साधारण सभा बिहीबार प्रतिष्ठानको सभा हल च्यासल, ललितपुरमा सम्पन्न भएको छ । प्रतिष्ठानको पूर्व अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक केशव बडालको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा  प्रतिष्ठानका संरक्षक जननायक तुल्सी लाल अमात्यका जेठा छोरा दिवस अमात्यको विशेष आतिथ्य रहेको थियो ।  

धारण सभामा पूर्वमन्त्रीहरू, संविधान सभा सदस्य, सङ्घीय सांसदहरू, प्रदेश सभा सदस्यहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठानको वार्षिक प्रतिवेदन तथा आर्थिक लेखाजोखा  पारित गरिएको थियो ।  प्रतिवेदनमा वर्षभरि गरिने कार्यक्रमको योजना प्रस्तावित गरिएको  र साधारण सभाले पारित गरेको छ । 

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन महासचिव हिम क्षेत्री र आर्थिक प्रतिवेदन सह कोषाध्यक्ष बाबुराम थापाले प्रस्तुत गर्नुभएको थियो । 

वक्ताहरूबाट तुल्सी लाल अमात्यको राजनीतिक विचार, व्यक्तित्व र कृतित्व बारे चर्चा गरिएको थियो ।  तुल्सी लाल अमात्य नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनका महासचिव हुनुहुन्थ्यो । २०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनबाट निर्वाचित सांसद र संसदीय दलको नेता हुनुहुन्थ्यो । अखिल नेपाल किसान संघको संस्थापक अध्यक्ष रहनुभएका तुल्सी लाल अमात्यले मध्य तराईमा‘जी कहो’ आन्दोलनको माध्यमबाट उहाँले गरिब किसानको सम्मानित जीवनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले तुल्सी लाल अमात्यको सादा जीवन र उच्च विचारको अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । 

साधारणसभाले गोपाल शाक्यको अध्यक्षमा संस्थाको नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा माधव पौडेल,उपाध्यक्षमा कृष्णलाल महर्जन,महासचिवमा हिमबहादुर क्षेत्री र कोषाध्यक्षमा बाबुराम थापालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा सुरेन्द्र मोहन शर्मा, हरिकृष्ण व्यञ्जनकार,वंशीधर मिश्र,अष्टमान महर्जन,सुजिता शाक्य,गरिमा शाह,राजेन्द्र व्यञ्जनकार निर्वाचित हुनुभएको छ । संस्थाको सचिव र सह कोषाध्यक्ष पद भने हाललाई रिक्त राखिएको बताइएको छ । 

२६ वर्षअघि स्थापना भएको यो प्रतिष्ठानको नेतृत्व पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री केशव बडाल, पूर्व मन्त्री गोपाल शाक्य लगायतले गरिसक्नुभएको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ३७ बजे