समाजवादी मोर्चा जगाउने प्रचण्ड प्रयास : ‘च्याँखे दाउ’ सकिएपछि नयाँ रोजगारीको खोजी  

काठमाडौं ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सत्ता बाहिर पुगेपछि जहिले पनि बाडुली लाग्ने गर्छ – समाजवादी मोर्चाको । यो अहिले मात्र होइन, माओवादी शान्ति प्रक्रियामा आए देखिनै उहाँमा चल्दै आएको परम्परा हो। उहाँको यो सत्ता बाहिर पुगे पछिको रोजगारी पनि हो।

गएको असारमा  प्रचण्डको राजनीतिक जीवनमा अकल्पनीय घटना भयो। त्यो घटना थियो– देशका दुई मुख्य पार्टी कांग्रेस र एमालेबीच नयाँ समीकरण भएर सरकार बन्नु । प्रचण्डका लागि यो घटना जुवाको खेल समाप्त भए जस्तै भयो। किन कि जुवामा च्याँखे राखेर  दाउ चम्काएर बसेका व्यक्तिको लागि त्यो खेल भएपछि यस्तो पीडा हुन्छ नै ।  नेपाली चलनमा कौडा खेल्नेलाई जुवा भनिन्छ र त्यसमा च्याँखे राख्ने चलन छ। यस्तो खेलमा च्याँखे थाप्नेले आफै कौडा हानी रहनु पर्दैन। कुन दाउमा हान्ने भनेर ढुकेर बसेर च्याँखे राख्दा कहिले कांही चम्कन्छ।  पैसा जित्छ। फेरि सधैँ च्याँखे राखिरहनु पर्दैन। अब चाहिँ दाउ लाग्छ र चम्कन्छ भनेपछि ढुकेर राख्ने चलन छ । जुवाको खेल बन्द हुने बित्तिकै च्याँखे स्वतः समाप्त हुन्छ।  यस्तै जुवाको खेल उठे जस्तो बनेको छ प्रचण्डको च्याँखे राजनीति । 

प्रचण्डको च्याँखे थाप्ने खेल एमाले र कांग्रेसबीच समीकरण भएपछि समाप्त भएको छ । च्याँखे राजनीति समाप्त भएपछि प्रचण्डको मात्र होइन, नाँङलो पसल थापेर चुरोट बेच्ने व्यापारी जस्ता बनेका साना पार्टीको पनि रोजगारी समाप्त भएको छ। 

त्यसैले च्याँखे थाप्ने प्रचण्ड र अरु नाङ्ला पसल  थापेर बसेका व्यापारी जस्ता भएका नेकपा एस जस्ता पार्टी पनि बेरोगजागर भएका छन् । त्यसैले उनीहरू प्रचण्डको आड भरोसामा रोजगारीका लागि भौँतारिरहेका छन् । 

त्यसैले पुष्पकमल दाहाल सरकारलाई टिकाउन प्रयोग भएको समाजवादी मोर्चा ब्युँताउने प्रयास गरेका छन्  । अहिले विप्लव लगायत केही पार्टीहरू छलफलमा समेत जुटेको समाचारहरू बाहिर आएका छन् ।  कुनै बेला माओवादी धारको मोर्चा बनाएको प्रचण्डले सत्तामा पुगेपछि ‘हात पुछ्ने कागज’ जस्तै त्यसलाई ‘डसबीन’मा हाली दिनुभयो।  त्यसै गरी समाजवादी मोर्चालाई पनि पछिल्लो समय ‘डसबीन’मा फालियो । 

त्यसैले अहिले प्रचण्ड सडकमा पुगेपछि फेरि समाजवादी मोर्चाको यादले सताउन थालेको छ। त्यसैले फेरि मोर्चाका कुरा आइरहेका  छन् । र त्यसलाई जगाएर रोजगारी खोज्ने प्रयास भएको छ।  जो सत्ताबाट बाहिरिएर तड्पिएका झन्डै तीन महिना भयो। 

कांग्रेस, एमाले गठबन्धन सरकारविरुद्ध संसद र सडकमा उभिने गरी समाजवादी  मोर्चालाई  सक्रिय गराउने भनिए पनि त्यसका खम्बाहरू सबै ढल्न लागेका देखिन्छन् । मोर्चामा समावेश भएका सबै घटक आन्तरिक विवादमा अल्झिएका छन् । 

मोर्चाका अहिलेका संयोजक विप्लव माओवादीसँग पार्टी एकीकरणका लागि कसरतमा लाग्नु भएको छ। त्यसमा पनि एकीकरण गर्ने कि नगर्ने भन्ने विवाद छ। त्यसै गरी गएको असारमा महाधिवेशन गरेको एस भित्र भने एकातिर पार्टी भित्र नेतृत्वमै चरम विवाद  छ भने अर्को तिर पुरानै घर एमालेमा फर्कनेको लर्को बढेको छ । त्यसै गरी अर्को घटक जनता समाजवादी त  विभाजन भएर अलग भइसकेको छ भने उपेन्द्र यादव नेतृत्वको जसपामा समाजवादी मोर्चाको बिषयमा विवाद छ। यादवले आफ्नो पार्टी प्रचण्डले फुटाएको भन्दै त्यसमा सामेल हुन अनिच्छा प्रकट गरेको बताइएको छ। 

पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमालेसहित करिब दुई तिहाइ गठबन्धन नजिक रहेको बलियो सरकार छ । यी दुई दल सहकार्यमा रहुन्जेल सानातिना छिद्राले केही हल्लाउन सकिने देखिदैन। यति सम्म कि संसद्को बिशेष अधिवेशन बोलाउन ऊनीहरूसँग एक चौथाइ(६९) सांसद पु-याउने हैसियत सम्म रहेको छैन। 

२०८० असार ४ मा घोषणा भएको मोर्चाले ‘सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने प्रमुख उद्देश्य’ भएको घोषणा गरेको थियो  । तर व्यवहारमा ती सबैले प्रचण्डको हात पुछ्ने कागज आफू बनेको महसुस गर्दै आएका छन् । समाजवादी मोर्चा जगाउने प्रयासले सडकमा पछारिएका प्रचण्डलाई  समाउन भाँचिएको भए पनि लौरो त फेला पर्ला अरूका लागि त्यो ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै हुने भएको छ। समाजवादी मोर्चा जगाउँदा संसदमा प्रचण्डको स्वर अलि ठुलो त हुन सक्ला । तर अरु भने त्यसमा रमिते भन्दा अरु हैसियतमा रहने  छैनन् । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १ : ४० बजे