मौसममा क्रमिक सुधार हुँदै

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ । 

उक्त प्रणाली आजदेखि पश्चिमी भू–भागबाट बिस्तारै बाहिरिने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको थियो । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ । 

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम आठ दशमलव एक डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री  र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस रहेको छ । 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १२ : १६ बजे