साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रूपान्तरणको प्रस्थान बिन्दु

​​​​​​​“जब म बालक थिएँ, 
​​​​​​​मलाई लाग्थ्यो— म संसार बदल्न सक्छु । 
जब म जबान भएँ, 
मलाई लाग्थ्यो— म मेरो देशलाई बदल्न सक्छु । 
जब मेरो विवाह भयो, 
मलाई लाग्थ्यो— म मेरो परिवारलाई बदल्न सक्छु । 
अब म बूढो भएको छु, 
मलाई थाहा भयो— म आफूलाई मात्र बदल्न सक्ने रहेछु ।”

यी हरफका सर्जक को हुन् भन्ने मलाई अहिलेसम्म थाहा छैन । प्रशंसनीय दृष्टिकोणको माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा हिँड्ने क्रममा यी हरफहरू मेरा कानमा परेका हुन् । पछि यी हरफ लेखिएको कागज नै मेरा हातमा प¥यो । पछि परिवर्तनका सन्दर्भमा कुरो चल्यो । मेरो ध्यान यिनै हरफहरूले आकृष्ट गरे । त्यस बेलादेखि यी हरफहरूलाई मैले छोड्न सकेको छैन । 

अस्तित्वमा रहेका सबै वस्तुहरू नश्वर हुन्छन्, हरेक वस्तुको स्वरूपमा परिवर्तन भइरहन्छ । स्वरूपमा हुने परिवर्तनले सारमा पनि प्रभाव पार्दछ भन्ने मान्यता रहिआएको छ । परिवर्तन अवश्यम्भावी हुन्छ । ‘परिवर्तन हुन्छ, परिवर्तन भइरहन्छ’ भन्ने कुरा चाहिँ शाश्वत हो, यो भने परिवर्तन हुँदैन । परिवर्तनको शाश्वतताले नै वस्तुहरू नश्वर भएका हुन् । परिवर्तनको धर्म वस्तुलाई यथास्थितिमा रहन नदिनु हो र शाश्वतको अर्थ नाश नहुनु हो । तसर्थ यी हरफहरूमा कुनै पनि वस्तु नाशवान् पनि हुँदैन र यथावत् अवस्थामा पनि रहँदैन भन्न खोजिएको हो । र, खास गरी परिवर्तन त आफूलाई मात्र गर्न सकिन्छ भन्ने हो । परिवर्तन त पहिले मानिसका दृष्टिकोण र त्यसपछि मात्र अवस्थामा आउने विषय हुन् । मानव निर्मित निर्माण र सिर्जनाहरूमा मानिसले अवश्य परिवर्तन ल्याउँछ नै, तर सक्रिय रहेको अवस्थामा मानवको निर्माण तथा सृजनशीलताले प्राकृतिक अवस्थाहरूमा समेत नयाँपन र अनुकूलता ल्याइदिएको देखिन्छ । 

आफ्नो विकास—निर्माण वा प्राकृतिक अवस्थामा समेत मानव जातिले आफूलाई अनुकूल हुने गरी थुप्रै किसिमका परिवर्तन गरेको हुन्छ र छ । मानव जातिले भौतिक अवस्थामा मात्र होइन, सभ्यता र संस्कृतिमा समेत ठुला ठुला परिवर्तन गर्दछ । अतः परिवर्तन भनेको नियमित प्रक्रिया हो, यो त भई नै रहन्छ । 

परिवर्तनको गति दुई वटा रूपमा हुन्छ । तिनमा पहिलो स्वतः हुने परिवर्तन हो र दोस्रो गरेर हुने परिवर्तन हो । स्वतः हुने परिवर्तनलाई वृद्धि—बढ्न वा घट्नुलाई मान्न सकिन्छ भने गरेर हुने परिवर्तनलाई रूपान्तरण भनिन्छ । मानवद्वारा सचेततापूर्वक गरिने सुधारोन्मुख परिवर्तनलाई विकास भन्ने गरिन्छ । विकास मानवले आफ्नै हितका निम्ति प्रारम्भ गरी अघि बढाउँदै आएको रूपान्तरणको नियमित प्रक्रिया हो ।

हरेक मानिस सुख—शान्ति र सुविधा चाहन्छ । अर्काको सुख—शान्ति र सुविधा खोसेर आफ्नै भागमा मात्र पार्नु शोषण हो । यो परिवर्तनको नकारात्मक पाटो हो । प्रायः सबै समाजमा यो अवस्था विद्यमान छ । यसका पात्रहरूमा एक पक्ष निर्धो—निमुखो र अर्को पक्ष शक्तिशाली बनेको हुन्छ । यद्यपि, यसरी निर्धो सधैँ निर्धो नै र शक्तिशाली सर्वत्र, सदाकाल शक्ति सम्पन्न रहिरहँदैन । तर, यसो नगरेर अवलम्बन र उपयोग गर्न सक्दा अरूको समेत हित हुने नयाँ आविष्कार, सिर्जना, निर्माण गरेर र नयाँ विचार, दृष्टिकोण, नीति, विधि स्थापित गरेर सुखशान्ति र सुविधा प्राप्त गर्नु सकारात्मक पाटो हो । संसारभरिका मानिसले खोजेको पनि त्यही हो ।

हाम्रो देश नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण रहेको छ । देशमा आएका पछिल्ला राजनीतिक परिवर्तनहरूले जनतामा नयाँ—नयाँ जागरण पैदा भएको छ । यस्ता जागरणका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन् । यस्तो हुनु स्वाभाविकै हो । हामीले सकारात्मक पक्ष खोज्नु र बटुल्नु पर्दछ । रूपान्तरणका सकारात्मक आयाम र आयतन बढाउँदै जानुपर्दछ । 

कुनै पनि विकास शून्यबाट प्रारम्भ हुँदैन । विकासका लागि विकासको पूर्वाधार आवश्यक हुन्छ । सामान्यतया विकासको पूर्वाधार भनेको प्राकृतिक स्रोत र अघिल्लो पुस्ताबाट वर्तमान पुस्तामा सरेको भौतिक तथा सामाजिक अवस्था नै हो । यसमा मानिसले श्रममा प्राप्त गरेका सफलता र त्यसको अनुभव पनि सर्दै आएको हुन्छ । हाम्रो राष्ट्रमा विकासका यी आधारहरूको कमी छैन । 

आफू र आफ्नो वरिपरि रहेका राम्रा पक्षहरूलाई पहिचान गरेर, तिनीहरूलाई हुर्काएर, बढाएर नै हामीले आफू र आफ्नो समाजलाई विकसित अवस्थामा पुर्‍याउन सक्नेछौँ । यसका लागि सकारात्मक तथा सचेत प्रयत्न आवश्यक छ । 

यस्तो काम कुनै व्यक्ति विशेषले अर्ती—उपदेश दिँदै हिँडेर मात्र सम्भव हुँदैन, न त कडा शासकीय निर्देशनले नै यस्तो सम्भव छ । यसलाई पद्धतिले व्यवस्थित गर्नु पर्दछ । यसो गर्न मूलतः शिक्षा र राजनीतिक क्षेत्रमा सकारात्मक सोच, दृष्टिकोण र अभ्यास आवश्यक छ । 

जुनसुकै समयमा पनि मानिसहरूमा आशा, उत्साह र उमङ्ग हुन सक्दछ भने निराशा, कुण्ठा र अवसाद पनि हुन सक्दछ । यस्तो अवस्थालाई भौतिक विकासले मात्र पन्छाउन सकिँदैन । यसका निम्ति मानिसमा आफैँप्रति विश्वास जन्माउन, जगाउन र हुर्काउन जरुरी हुन्छ । यसका लागि उत्प्रेरणा जगाउने साहित्य या अध्ययन सामग्रीको आवश्यकता पर्दछ । आध्यात्मिक चिन्तन मनन आवश्यक हुन्छ । यसलाई हाम्रा पूर्वज पुर्खाहरूले ध्यानको अभ्यास गरेको विषय स्मरणीय छ । 

हुन त सकारात्मक सोच, दृष्टिकोण र विचार बनाउन कुनै निश्चित किताब नै पढ्नुपर्छ भन्ने हुँदैन । यो त जेसुकै, जहाँसुकै र जस्तासुकै अध्ययन सामग्रीबाट पनि प्राप्त गर्न सकिन्छ । अहिले मानिसहरूमा सङ्गठित हुने प्रयास र प्रक्रियासँगै व्यवस्थापकीय ज्ञान र सीपको माध्यम तथा स्रोतको खोजी समेत भइरहेको छ । सबै तहका विद्यालयहरू व्यवस्थापकीय ज्ञान र सीप विकासका माध्यम हुन् । यसो गरिरहँदा पनि विद्यालयहरूमा विद्यार्थी आफैमा भएका ज्ञानको खोजी तथा त्यसको प्रयोगको व्यावहारिक अभ्यास गराउनु आवश्यक हुन्छ अर्थात्, विद्यार्थीले स्वयं आफूभित्रै सम्भावना र सिर्जनाको अथाह भण्डार रहेको अनुभूति गर्नु पर्दछ । बाहिरी पक्ष त सहयोगी हो, साधन र माध्यम हो, वास्तविक शक्ति त आफूmभित्रै रहेको हुन्छ । कुनै पनि वस्तुको विकास वा विनाशको कारण मूलतः आन्तरिक नै हुन्छ भन्ने मान्यता सम्झन आवश्यक छ । 

मानिसहरूमा सकारात्मक सोच, दृष्टिकोण र अभ्यास आवश्यक छ । शिक्षाले दिने भनेको दृष्टिकोण हो भने राजनीतिले सिद्धान्त र नीति निर्माणको अवसर दिन्छ । तर, परिवर्तनको सबभन्दा निकटतम पक्ष आफूm स्वयं नै हो, परिवर्तनको प्रस्थान बिन्दु आफू स्वयं नै हो । आफूमा परिवर्तन ल्याउन सकिएन भने परिवर्तनका प्रयास सफल हुँदैनन् । आफूमा परिवर्तनको प्रारम्भ नै सामाजिक वा अन्य परिवर्तनको साँचो प्रस्थान बिन्दु हो । 

(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ११ : १२ बजे