आज देशभरको मौसम अनुकूल रहने

प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । ६९औँ प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समयअनुसार प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरणको आवश्यकता रहेको औँल्याउनु भएको हो ।

“अपराधका घटनाहरु बृद्धि भएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी सङ्गठन बदलिँदो परिवेशअनुसार आफूलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाका निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्नेछ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रहरीले मुलुकमा शान्तिसुरक्षा कायम गर्न, बढ्दो अपराधलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिँदो परिवेशअनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।” अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्तिसुरक्षा कायम गर्न, विपद् व्यवस्थापनलगायत काममा प्रहरीले सफलता प्राप्त गरेको बताउनुभयो । अपराधको प्रकृति फेरिँदा सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको बताउनुभयो ।

सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ । साथै प्रहरी स्थापना दिवसका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजय हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रहरी तालिम केन्द्रका समादेशक, प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठ र प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेशमा अपराध नियन्त्रणलगायत कार्यमा प्रहरीको सक्रियताका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १ : ३२ बजे