आज वर्षाको सम्भावना

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ हिजोदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवको उद्धार गरिएको हो ।

उद्धार टोली सदस्य रामजी अधिकारीले झापाको दमक नगरपालिकाबाट दुई, मोरङको बेलबारीबाट दुई, ग्रामथान गाउँपालिकाबाट एक र विराटनगर महानगरपालिका– १५, रामजानकी मार्गबाट एक जनाको उद्धार गरिएको जानकारी दिनुभयो । यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवको उद्धार गरिएको उहाँले बताउनुभयो ।

उद्धार गरिएकाहरूलाई आजै मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ८ : ४० बजे