आज वर्षाको सम्भावना

प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ

लाहोर (पाकिस्तान) । अक्टोबर १५ (मङ्गलबार) मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ ।

पञ्जाब प्रहरीले डिफेन्स, कोट लखपत र जोहर टाउनलगायत धेरै क्षेत्रमा छापा मारी पिटिआई प्रदर्शन अयोजना गर्न संलग्न भएको विश्वास गरिएका व्यक्तिहरूलाई लक्षित गरेको छ । पाकिस्तानले अक्टोबर १५ र १६ मा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलन आयोजना गर्ने भएकाले प्रहरी कारबाही कानून व्यवस्था कायम राख्ने र कुनै पनि अवरोध रोक्ने हिस्सा हो ।

इमरान खानले स्थापना गर्नुभएको पिटिआईको नेतृत्वले अक्टोबर १५ मा राजनीतिक गुनासोहरूका बारेमा आवाज उठाउने प्रदर्शन गर्ने घोषणा गरेको छ । यसबाट खानको पार्टी र कानून कार्यान्वयन निकायहरूबीच तनाव उत्पन्न भएको छ । उक्त दिन इस्लामाबादमा हुने एससिओ शिखर सम्मेलनको पहिलो दिन हो ।

घटनाक्रमलाई ध्यानमा राख्दै प्रहरी अधिकारीहरूले सार्वजनिक सुरक्षा सुनिश्चित गर्दै मानिसहरूको प्रदर्शन गर्ने अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको एआरवाई न्युजले बताएको छ ।

पिटिआईले गत साता आफ्नो राजनीतिक समितिको बैठकपछि प्रदर्शनको घोषणा गरेपछि प्रहरीको कारबाही आएको हो । सामाजिक सञ्जाल एक्समा पिटिआई केन्द्रीय सूचना सचिव शेख वकास अकरमले अक्टोबर १५ मा इस्लामाबादको डि–चौकीमा ‘शक्तिशाली’ प्रदर्शन हुने बताउनुभएको थियो ।

उहाँले पञ्जाबमा पिटिआईका प्रदर्शनहरू रद्द गरिएको र पञ्जाबमा थुनामा राखिएका पिटिआई कार्यकर्ता, नेता र प्रान्तीय विधानसभा सदस्य (एमपिए) लाई रिहा गर्न आह्वान गर्नुभएको छ ।

पिटिआईले सङ्घीय र पञ्जाब सरकारद्वारा गरिएका ‘गैरकानूनी’ छापा र गिरफ्तारीहरू अन्त्य गर्न आह्वान गरेको छ । शेख वकास अकरमले सरकारका कार्यले पिटिआई अध्यक्षको जीवन खतरामा परेको र यसले उहाँलाई आधारभूत मानवअधिकारबाट ‘वञ्चित’ गरेको बताउनुभयो ।

उहाँले सरकारलाई दमन र हिंसा गरेको आरोप लगाउँदै पिटिआई पछि नहट्ने बताउनुभयो । “इमरान खानलाई आधारभूत अधिकार, परिवार र पार्टी नेताहरूसँग पहुँच प्रदान नगरिए अक्टोबर १५ मा सम्पूर्ण पाकिस्तान सडकमा उत्रिनेछ”, उहाँले भन्नुभयो ।

यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पिटिआईलाई ‘व्यापक राष्ट्रिय हितमा’ अक्टोबर १५ को प्रदर्शन आह्वान फिर्ता लिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १ : ३८ बजे