ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हँु भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) का घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहट जिल्ला परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

 सादा पोसाकको घुमुवा प्रहरीका रुपमा रौतहट जिल्लामा ठगी धन्धामा संलग्न बैठाको साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डिएक्स–एक  बोतल, मोबाइल एक थान, नगद रु १७ हजार ९०० र  प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।

आपाराधिक गतिविधिमा संलग्न बैठालाई अहिले इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको रौतहट प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १ : ३४ बजे