सुनको मूल्यमा नयाँ कीर्तिमान

खराब अर्थतन्त्र, असक्षम अर्थमन्त्री

काठमाडौं । गत असार २९ गते नेकपा माओवादी (केन्द्र) का तर्फबाट जनार्दन शर्माले अर्थमन्त्रीको बागडोर सम्हाल्दा मुलुकको अर्थतन्त्रको तस्बिर यसरी बिग्रिएको थिएन ।
 त्योबेला शोधनान्तर १५ अर्ब १५ करोड घाटाको अवस्थाबाट एक अर्ब २३ करोड रुपैयाँ नाफामा पुगेको अवस्था थियो। चालु खाता घाटा ३९ अर्ब ७० करोड रुपैयाँले बढेको थियो। वैदेशिक मुद्राको सञ्चिति ३३ अर्ब ३८ करोडले बढेको थियो। व्यापार घाटा केही बढेको देखिएपनि रेमिटेन्स ९० अर्ब ११ करोड रुपैयाँ भित्रिएको थियो।

जब शर्माले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले त्यसयताका सबै तस्बिरहरु भने नराम्ररी बिग्रिएका छन्  ।   

शर्मा अर्थमन्त्री भएको करिब  ६ महिना पुगेको छ ।  अहिले चालु वर्षको चार महिनाको तथ्यांक आएसकेको छ । तथ्यांक विश्लेषण गर्दा–सबै सूचा‌क  अहिलेसम्मकै खराब छन्। शोधनान्तर घाटा १५० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर घाटा बढेर आयात गर्ने क्षमता कम भएपछि मुद्रा कोषबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था  छ ।

चार महिनामै चालु खाता घाटा कुल अर्थतन्त्रको आकारको ५.२३ प्रतिशत नाघिसकेको छ। आयात ६५० अर्ब २९ करोड पुगेको छ भने रेमिटेन्स दैनिक रूपमा घट्दैछ ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बढ्दो डलरको भाउका कारण मूल्यवृद्धि हुने  सम्भावना उच्च छ। यही बीचमा अन्तर्राष्ट्रिय बजारबाट सामान आयात गर्दा लाग्ने यातायात खर्च पनि बढेर गएको छ। यसले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरु बताउँछन् ।

महालेखा नियन्त्रकको पछिल्लो तथ्यांक अनुसार पनि खर्च प्रणाली विगतका वर्षहरुको भन्दा निकै कमजोर भएको छ।  अर्ध–वार्षिक समीक्षा गर्ने समय सुरु हुन २० दिन पनि बाँकि नरहँदा  अहिलेसम्म कुल खर्च २४.८२ प्रतिशतमात्र छ। अझ पुँजीगत खर्च त दयनीय नै छ। प्रत्येक महिना १० प्रतिशतले खर्च बढाउने उद्घोष गरेका शर्माले  ६ महिनामा भने ६.७७ प्रतिशत मात्र खर्च भएको तथ्यांक छ ।

तमाम तथ्यांकहरुले नै भन्छ कि अहिलेका अर्थमन्त्री  एकदमै कमजोर, अपरिपक्व र असक्षम छन्  । अर्थतन्त्र भयावह हुँदा पनि  अर्थमन्त्री शर्मा भने त्यसलाई सुधार गर्नुको साटो ढाकछोप गर्नमै बढी तल्लीन छन् ।

अहिलेपनि अर्थतन्त्र सुधारका लागि चाल्नुपर्ने आवश्यक रणनीतिका बारेमा शर्माले कतै छलफल चलाइरहेका छैनन् बरु उनी यत्तिखेर दोष अघिल्ला सरकार, मिडिया र आफु विरुद्घ कृतिम हल्ला चलाइरहेको दाबी गर्दै आफ्नाविरुद्ध जेहाद छाडिएको भन्दै काउन्टर दिन र लेख लेख्नमै व्यस्त छन्। उनी अर्थतन्त्र सुधारका लागि दिएका सुझावलाई मनन गर्न अझै तयार छैनन् । 

अर्थतन्त्रका बारेमा कम जानकार शर्मा आफ्नो अफलतालाई धुलोलाई कार्पेटमुनि लुकाँए जसरी लुकाउनमै व्यस्त छन् । उनी अझैपनि सबै दोष कोभिडका कारण अर्थतन्त्र विस्तार हुँन नसकेको ग्लोबल थ्यौरी सुनाइरहेका छन्। 

अर्थमन्त्री विष्णु पौडेलले ल्याएको लोकप्रिय बेजेटलाई कैची लगाउन हतारो गर्ने अर्थमन्त्री शर्माले प्रतिस्थापन अध्यादेश ल्याएर खुबै प्रचारबाजी गरेपनि आज ति सबै प्रचार पानीका थोपा जसरी फुटिरहेका छन् । प्रतिस्थापन बजेटका नाउँमा शर्माले विकास खर्च कार्यान्वयनमा भन्दा १० हजार रुपैयाँ नगद बाँड्नमा ध्यान दिंए । राजनीतिक लाभ लिनकै लागि दसैंतिहारसम्मै १० हजार बाढ्न मरिहत्ते गर्ने शर्मा अर्थतन्त्र यति धेरै खराब हुँदा सम्म सुधारका लागि पहल लिन भन्दा पनिअझै झुटबोल्नमै व्यस्त छन् । 
आर्थिक पृष्ठभूमि नै नभएका व्यक्तिले अर्थमन्त्रालय सम्माल्नुको परिणाम हो आजको अर्थतन्त्र । अहिले अर्थतन्त्र गम्भीर मोडमा उभिएको छ । यस्तो असहज अवस्थामा पनि अर्थमन्त्रीले ‘अर्थतन्त्र राम्रो छ, हामी कठिन अवस्थामा छैनौ’भन्नु जत्तिको जोक,असक्षमता र लाचारी अरु के हुन सक्ला ? 
 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ३ : २१ बजे