साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माओवादी सङ्‌कट गहिरो: यता भीर, उता पहिरो

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को आठौँ महाधिवेशन काठमाण्डौमा जारी छ । मालेमावादको परम्परागत व्याख्या समेटिएको प्रचण्डको प्रतिवेदनमाथि प्रतिनिधिले विचार विमर्श गर्दैछन् । संसदीय भासमा चुर्लुम्म डुबेको माओवादी केन्द्रले माओवादी सिद्धान्त बोकिरहनु आफैमा आश्चर्यजनक त छदैंछ,वर्षौं पहिले चीनमा असफल भएको 'सर्वहारा सांस्कृतिक कान्ति'को गर्ने उद्घोष गर्नु झन् उदेक लाग्दो छ । 'कि शक्ति बन्दुकमा हुन्छ, कि शक्ति पैसामा हुन्छ' भन्ने प्रचण्डको महावाणी व्यवहारमा उतार्न तल्लीन नेता-कार्यकर्ताले भरिएको माओवादी सांस्कृतिक रूपले शुद्ध होला भन्ने कल्पना पनि गर्न सकिन्न । आफैँ सबभन्दा अपारदर्शी जीवन बिताइरहेका माओवादी सुप्रिमोले पार्टीभित्र सांस्कृतिक कान्तिको विषय उठाउनु हाँसिमजाक शिवाय केही हुन सक्दैन ।

माओको फोटोमा माल्यार्पणसँगै सुरु भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरेका छन् । '२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षक दिएको सो प्रतिवेदनमा उनले मुख्य रूपमा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गरेका छन् । सो प्रयोजनको लागि संविधान संशोधन गर्न सडक सङ्घर्ष गर्नु पर्ने उल्लेख गरेका छन् । पूर्ण पाठ बाहिर नआइसकेको सो प्रतिवेदनमा उनले भनेका छन्-'यो संविधानमा हाम्रा सीमाहरू छन् । निर्वाचन प्रणाली शासकीय स्वरूप उत्पीडित वर्ग जाती र क्षेत्र र समुदायको पहिचान र अधिकारसहित सङ्घीयता तथा जनअपेक्षा अनुरूप संस्थागत गर्न भने सकेको छैन,’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘त्यस कारण हाम्रो पार्टीले यी घनिभूत विषयमा संविधानको संशोधनको आवश्यकता देखेको छ । संविधानसभामा आफ्नो भिन्न मत पनि दर्ज गरेको छ । समाजवाद उन्मुख मूलभूत कार्यदिशा लिँदै यी मुद्दाका लागि सडक सदन र सरकारका सबै क्षेत्रबाट सङ्घर्ष गर्न जरुरी छ ।’

२०७२ सालमा जारी भएको नेपालको संविधानलाई मधेसवादी केही दलले असन्तुष्ट जाहेर गरेका थिए । उनीहरू अहिले पनि संविधान संशोधनको मुद्दा उठाइरहेका छन् । संविधानबमोजिम बनेका प्रायः सबै सरकारमा हिस्सेदारी लिए पनि मधेसवादी दलले यो मुद्दा उठाउन छोडेका छैनन् । संविधान जारी हुँदाका बखत संविधान मस्यौदा समितिमा रहेका माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईले असहमति जाहेर गरे पनि प्रचण्ड पक्षले संविधान मानेरै आएको थियो । 

माओवादी जारी आठौँ महाधिवेशनमा यो विषय प्रमुख रूपमा उठाउनुको कारण बुझ्न गाह्रो छैन । दस्ताबेजमा संविधान संशोधनको मुद्दा उछालपछाल गर्नुका कारण विभिन्न हुन सक्छन् । 'मनमा एक थोक र मुखमा एक थोक'  आफ्नो बानीले पार्टी बिग्रिएको स्वीकारेका प्रचण्ड यो प्रतिवेदनको कार्यान्वयनमा पनि आफैँ इमानदार हुन नसक्ने प्रस्टै छ ।

कम्युनिष्ट सरकार ढाल्न उनले खेलेको गत वर्षको भूमिकालाई प्रतिवेदनमा ठुलो बहादुरीको रूपमा प्रस्तुत गरिएको छ । देउवाको नेतृत्वमा प्रतिक्रियावादी गठबन्धन बनाउनु उनका लागि 'महान् अग्रगामी छलाङ' हो । यति हुँदाहुँदै पनि के पी शर्मा ओली नेतृत्वको सरकार गिराउन प्रचण्ड र माधव नेपालले नेपाली काङ्ग्रेससँग गठबन्धन गरे पनि नेपाली काङ्‌ग्रेस आगामी चुनावमा माओवादी समूह र माधव नेपाल समूहसँग तालमेल गर्ने मुडमा देखिएको छैन । जनाधार खुम्चँदै गएका प्रचण्ड र जनधार नै बनाउन नसकेका माधव नेपाललाई बोक्दा काङ्‌ग्रेसलाई नाफा होइन घाटा हुन्छ भन्ने उसले आङ्कलन गरिसकेको छ । एमसीसीको कारण गठबन्धन कुनै पनि बेला टुट्न सक्छ भन्ने प्रचण्डजस्तो चतुर राजनीतिक खेलाडीले नबुझ्ने कुरा भएन । शान्ति प्रक्रिया पछि सबभन्दा कमजोर बनेको माओवादीलाई आगामी चुनावमा काङ्‌ग्रेसले पार्टनर बनाउन नमानेपछि माओवादीलाई आफ्नो अस्तित्व रक्षाको लागि अर्को भरपर्दो चुनावी पार्टनर चाहिएको छ । 

सर्वोच्चको फैसलाले नेकपाको एकता भङ्‌ग गरिदिएपछि प्रचण्डलाई लागेको थियो, माधव नेपालले एमालेको ठुलो हिस्सा फुटाउने छन् । त्यही शक्तिको वैशाकीमा आगामी राजनीतिक यात्रा गर्ने तानाबाना बुनेका प्रचण्ड एमाले सग्लै र झन् झन् शक्तिशाली बनेपछि तिलमिलाए । नेपाली काङ्‌ग्रेसका नेता रामचन्द्र पौडेलको शब्द सापटी लिने हो भने माधव नेपालले एमालेलाई चोइट्याउन पनि सकेनन्,केवल खोस्रिए मात्र । एमालेको लोकप्रिय ब्रान्ड सूर्य चिन्ह कब्जा गर्न कस्सिएका प्रचण्डलाई माधवको एमालेबाट बहिर्गमन केवल 'खोदा पहाड निकला चुहा' मात्र भयो । नेकाले औँलो नदिने घोषणा गर्नु र माधव नेपालको हविगत हुनु उनका लागि निन्द्रा नलाग्ने विषय भएको छ । 

माओवादी केन्द्रले जतिसुकै पार्टी रूपान्तरणको डङ्‌का पिटे पनि यसको रूपान्तरण सम्भव छैन । शान्ति प्रक्रियापछिका हरेक सम्मेलन र महाधिवेशनमा प्रचण्डले 'गम्भीर आत्म समीक्षा', 'पार्टी रूपान्तरणका लागि कठोर कदम चाल्ने','रूपान्तरण आफैँबाट सुरु गर्ने','माओवादी पार्टीलाई क्रान्तिकारी स्पिरिटले चलाउने','नेपालको समाजवादी आन्दोलनको नेतृत्व आफूले मात्र गर्न सक्ने'लगायतका विभिन्न पदावली प्रयोग गर्दै आएका छन् । तर व्यवहारमा त्यो कहिल्यै प्रकट भएन । उनी आफैँ रूपान्तरण हुन सकेनन्,बरु निरन्तर दक्षिणपन्थी दलदलमा फस्दै गए । अहिले उठेको 'माओवादी केन्द्र रूपान्तरण' भन्ने पदावली महाधिवेशन अवधिभरको लागि एउटा मसला मात्र हो, महाधिवेशनमा आएका प्रतिनिधिले खाएको मासुभातसंगै चपाइन्छ र निलिन्छ, फर्कँदा रित्तो हात ! पार्टीलाई उत्पादनमा जोड्ने योजना माओवादीले हेटौँडा महाधिवेशनले पनि पास गरेकै हो । त्यति बेला पनि त्यो केवल कार्यकर्ता झुक्क्याउने विषय थियो । अहिले पनि उही ।

 'जनयुद्ध'मा आफू जत्तिकै योगदान गरेका चार 'ब'-वैद्य,बाबुराम,बादल र विप्लव-पार्टीमा रहन सकेनन् । कम्युनिष्ट पार्टीमा दुई लाइन सङ्घर्ष चलिरहन्छ,कम्युनिष्ट पार्टी विपरीतहरूको एकत्व हो भन्ने माओको उक्ति फलाक्न नछोड्ने तर पार्टीभित्र फरक मत राख्नेलाई राम धुलाइ गर्ने उनको प्रवृत्तिका कारण उनीहरू बाहिरिएका हुन् । अहिले आफलाई अप्ठ्यारो पर्दै गएपछि हिजो विभिन्न समयमा विभिन्न बहानामा गलहत्त्याइएका नेतालाई प्रचण्ड पटक-पटक सम्झन थालेका छन् । सहकार्यको हात फैलाउन थालेका छन् । यही मेसोमा हाल सबैभन्दा ठुलो मदेशवादी दल जसपाका नेता बनेका डा. बाबुराम भट्टराई मार्फत उनीहरूलाई आगामी चुनावको पार्टनर बनाउन सकियो भने आफ्नो अस्तित्व जोगाउन सकिने निष्कर्ष प्रचण्डको छ । विगतदेखि नै अरूको एजेन्डा आफ्नो बनाउन खप्पिस प्रचण्डले यसपालि डा. बाबुराम र मधेसवादी दलको एजेन्डा आफ्नो राजनीतिक प्रतिवेदनमा घुसाएका छन् । 

बिस्तारै सर्व स्वीकृत बन्दै गएको नेपालको वर्तमान संविधानलाई अस्वीकार गर्ने विषय प्रचण्डको राजनीतिक प्रतिवेदनमा आउनुले देशका अस्थिरतावादी शक्तिलाई हौस्याउने निश्चित छ । र, नेपाललाई 'नियन्त्रित अराजकता' तर्फ लैजान चाहने केही विदेशी शक्तिलाई थप चलखेल गर्ने मैदान तयार गर्ने समेत प्रस्ट छ । लामो समयदेखि अस्थिरताका संवाहक बनेका प्रचण्डले आफ्नो प्रतिवेदनमा त्यसैलाई निरन्तरता दिने प्रस्ताव गर्नु निश्चय नै दुःखद विषय हो ।

प्रतिवेदन जस्तो लेखियोस् वा पास गरियोस् त्यसले कुनै अर्थ राख्दैन । प्रचण्ड र उनको समूह आगामी दिनमा देश, जनता र कम्युनिष्ट आन्दोलनप्रति अलिकति पनि जिम्मेवार भए भने त्यसले चाहिँ केही अर्थ राख्ला । नत्र एकीकृत कम्युनिष्ट आन्दोलनको मूलबाटो छोडेर अनिश्चितताको जङ्‌गल पसेको माओवादीको अगाडि यता भीर उता पहिरो मात्र फेला पर्नेछ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  २ : ५१ बजे