तीन प्रदेशमा वर्षाको सम्भावना

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

काठमाडौँ।दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दशैंमा टन्न खानैपर्छ ?

पोषणविद्हरु भन्नुहुन्छ, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरोे कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई नगर्ने उहाँहरुको भनाइ छ ।

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो । पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ, जुन हानिकारक छ । घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन ।”

दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ ।

पोषणविद् रुजु खड्काका अनुसार एकैचोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन । “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उहाँले भन्नुभयो, “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विशेषगरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ । त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ । मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ । पटक पटक तताउँदा हानिकारक तत्वहरु उत्पादन भइरहेका हुन्छन् । पोषक तत्व नष्ट भइरहको हुन्छ ।”

पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “थोरै तेलमा तारेको ठीकै हुन्छ । महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”

पोषणविद्हरु चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउनुहुन्छ । मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताउनुभयो ।

“औषधि समयमै लिनुपर्छ । मधुमेह भएकाले धेरै चिनीजन्य खानेकुरा खानुहुँदैन । व्यायाम पनि उत्तिकै आवश्यक छ । कम्तीमा आधा घण्टा व्यायाम गरेको राम्रो हो,” उहाँले भन्नुभयो ।

पोषणविद् खड्का पनि ज्येष्ठ नागरिकहरुमा पाचन शक्ति कमजोर हुने भएकाले सकेसम्म रातो मासु कम खानुपर्ने बताउनुहुन्छ । “रक्तचाप बढ्दा मुटुको समस्या आउन सक्छ । पानी पर्याप्त खाइएन भने मिर्गौलालाई चाप पर्न सक्छ । रक्सी सकेसम्म नखान सल्लाह दिन्छु । भुटेको चनाजस्ता प्रोटिनयुक्त चिज खाए राम्रो हुन्छ”, पोषणविद् खड्का भन्नुहुन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : ०३ बजे