विदेह राजा जनकको विद्वता, कर्तव्यपरायणता र स्वाभिमान तथा जनकनन्दिनी सीताको आत्मत्याग, साहस र पवित्रताको कठोर परीक्षामा उत्तीर्ण भएको भूमि जनकपुर पुष्पित प्रदेश नं.२ एउटा ऐतिहासिक विरासत बोकेको क्षेत्रमा पर्दछ । दशरथ पुत्र श्रीरामको शुरवीरता जनक सुपुत्री सीता मार्फत जँचिएको यो धर्ती साँस्कृतिक पुरातात्विक हिसाबले जति समृद्ध छ, नेपाल र भारत दुई देशबीच रहेको युगौँ पुरानो साँस्कृतिक सम्बन्धलाई झल्काउन त्यत्तिकै महत्वपूर्ण छ । यस महिमालाई कत्तिपनि ओझेलमा पर्न नदिई यो प्रदेशको उपयुक्त नामकरण गरी यहाँको प्राकृतिक स्रोत तथा सम्पदाको सदुपयोग गर्न सक्दा यो प्रदेश एउटा समृद्ध एवं अब्बल प्रदेशको रूपमा स्थापित हुनेछ । नेपाली, मैथिली, भोजपुरी, बज्जिका, उर्दु, थारु, तामाङ्गजस्ता विभिन्न भाषाहरू प्रयोगमा रहेको यो प्रदेशले सहिष्णुता र सद्भावको सन्देश छरिरहेकोमा गर्व गर्दै अब प्रदेशलाई एउटा समृद्ध र सुखी प्रदेशमा रूपान्तरण गर्न लागिपर्नु समग्र प्रदेशवासीको दायित्व हुन आएको छ ।
नेपालको संविधान २०७२ जारी भएपछि स्थापित यो प्रदेश जनसंख्याको हिसाबले दोस्रो ठूूलो र क्षेत्रफलको दृष्टिले सबैभन्दा सानो प्रदेश हो । यस प्रदेशमा आठ जिल्लाहरू सप्तरी, सिराहा, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट र महोत्तरी पर्दछन् । यहाँ १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाहरू छन् । पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक जिल्लामा समान ५ का दरले प्रतिनिधि सभामा ४० जना सांसदले प्रतिनिधित्व गर्दछन् भने प्रदेश सभामा प्रत्यक्ष निर्वाचित हुने प्रदेश सभा सदस्यको संख्या ८० रहेको छ ।
यस प्रदेशको सबैभन्दा ठूलो शहर वीरगञ्ज हो भने सीमावर्ती नेपाल–भारतको सबैभन्दा ठूलो नाका रक्सौल हो । चीनसँग सीमा नजोडिएको नेपालको यो मात्र एउटा प्रदेश हो । जानकी, गढीमाई, छिन्नमस्ता भगवती, कंकालिनी र जलेश्वर मन्दिर यहाँका प्रसिद्ध धार्मिक पीठहरू हुन् । ९,६६१ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस प्रदेशमा ५४ लाख बढि जनसंख्या रहेको छ । पूर्वमा प्रदेश नंं. १, उत्तरमा बागमती प्रदेश र दक्षिणमा भारतसँग यस प्रदेशको सीमा जोडिएको छ । सप्तरी जिल्लामा कोशी टप्पु वन्यजन्तु संरक्षण क्षेत्र पनि पर्दछ भने प्रदेश नं. १ र प्रदेश नंं. २ लाई छुट्याउने कोशी नदी पर्दछ । चितवन राष्ट्रिय उद्यान तथा पर्सा राष्ट्रिय उद्यान वागमती प्रदेश र प्रदेश २ नं. लाई छुट्याउने सीमामा पर्दछ ।
यो क्षेत्र कृषिका निम्ति प्रख्यात रहेको छ । उर्वर भूमि, मिहिनेती जनता, बाली विविधता यहाँका विशेषता हुन् । यसै पक्षलाई आत्मसात गर्दै नेपालको पहिलो नहर चन्द्रनहर वि.सं. १९८५ सालमा निर्माण सम्पन्न भएको थियो । नेपालको लोकपृय उदयपुर सीमेन्ट कारखाना भएको जिल्लाकोत्रियुगा नदी प्रणालीलाई आधार मानेर विकसित भएको यो नहरलाई सुदृढ तुल्याएर सिँचाईको प्रवन्ध गर्नसके यस क्षेत्रको कृषि विकासमा ठूलो योगदान पुग्नेछ । नहरको ऐतिहासिक पक्षलाई आत्मसात गर्दै संरक्षण तथा सम्बद्र्धनसहित यसको सेरोफेरोमा उन्नत बाली लगाउन सके कृषि पर्यापर्यटनमा समेत टेवा पुग्ने देखिन्छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्न सफल जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादको अंकुरण गराउने तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन स्थल सिराहाको विष्णुपुरकट्टी, सर्रेअम्बासलाई राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय तह तथा समुदाय लागिरहेकोमा थप पूर्वाधार विकास गरी अगाडि बढ्न सक्दा भावि पुस्ताको निम्ति यो स्थल प्रेरणादायी बन्ने निश्चित छ ।
नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्दै मुलुकमा राजनीतिक परिवर्तनलाई सफलिभूत पार्न यस क्षेत्रले निर्वाह गरेको भूमिका अविश्मरणीय छ । नेपाली किसान आन्दोलनलाई सामाजिक परिवर्तनको पक्षमा उभ्याउन दिवंगत वामपन्थी नेताहरू तुलसीलाल अमात्य र विष्णुबहादुर मानन्धरले यस क्षेत्रमा खेल्नु भएको योगदान महत्वपूर्ण छ । नेपालमा गणतन्त्र स्थापनापछि पहिलो राष्ट्रपति बन्न सफल डा.रामवरण यादव यसै प्रदेशको हुनुहुन्छ । प्रदेशवासीले यसमा गर्व गर्नु पर्दछ । यसैगरी लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्ने स्वर्गीय महेन्द्रनारायण निधि तथा समाजमा सद्भावना तथा एकता अभिबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल स्वर्गीय गजेन्द्रनारायण सिंहको योगदानलाई यस प्रदेशले भुल्न मिल्दैन । स्वर्गीय सिंहको सम्मानमा स्थापित गजेन्द्रनारायणसिंह अस्पतालको सुदृढीकरण गर्दै यस क्षेत्रमा सार्वजनिक स्वास्थ्य सेवा सुदृढ पार्नसके उहाँप्रति ठूलो सम्मान हुनेछ ।
पूर्व पश्चिम राजमार्गले यस प्रदेशका सबै जिल्लालाई छोएकाले सडक आसपास शुद्ध, स्वस्थ खाना तथा खाजाघर तथा पर्यटन पूर्वाधार विकास गरी स्थानीय समुदायको आयआर्जन बढाउने अत्यन्तै ठूलो संभावना रहेको छ । यसको नमूनाको रूपमा सप्तरी जिल्लाको राजमार्गमा पर्ने बर्मजीयाको पेडा बजारलाई लिन सकिन्छ । पशुपालन व्यवसायलाई थप प्रवद्र्धन गर्दै यहाँको पेडा उत्पादनलाई बढावा दिएर थप स्वस्थ, सफा र गुणस्तरीय कायम गर्न सक्दा यो एउटा कोशेलीको रूपमा स्वदेश तथा विदेशका यात्रुहरुले अपनाउने छन् । यस मौलिक मिठाइलाई ब्राण्डिङ गर्नसके स्वदेश तथा विदेशमा समेत आपूर्ति गर्न सकिने संभावना रहेको छ ।
यो प्रदेश समृद्ध सभ्यतासँग जोडिएको सुदृढ नदी प्रणालीसँग आवद्ध छ । यहाँका प्रमुख नदीहरूकोशी, बागमती, कमला, लखनदेही, विष्णुमती हुन् । यहाँको खाँडो नदी तथा अन्य खहरेहरूले खासगरी वर्षायाममा बाढिबाट जनधनमा क्षति पु¥याउँदै आएकोमा सबै जोखिमयुक्त नदीमा तटबन्ध गर्दै सिँचाईको प्रवन्ध गर्न सक्दा यस प्रदेशको मुख्य आर्थिक स्रोतको रूपमा रहेको कृषि क्षेत्रमा ठूलो फड्को मार्ने अवस्था रहेको छ । यस क्षेत्रमा रहेका कृषि अनुसन्धान केन्द्रहरू तथा कृषि ज्ञान केन्द्रमा थप भौतिक पूर्वाधार विकास गर्दै जनशक्ति परिचालनमा ध्यान दिनु पर्दछ । कृषिमा आकर्षण बढाएर रोजगरी दिन नसक्दा यस प्रदेशबाट ठूलो संख्यामा युवाहरू रोजगारीका निम्ति विदेश पलायन भइरहेको यथार्थतालाई आत्मसात गर्दैश्रमप्रति ठूलो आस्था र विश्वास रहेको जनशक्तिलाई स्वदेशमै टिकाई राख्न प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ । स्थानीय समुदायले तत्कालिन रुपमा लाभ लिइरहेको विप्रेषणबाट मात्र आकर्षित नबनी दिगो आयआर्जनमा जोड दिनु पर्दछ ।
सुनकोशी–कमला डाइभर्सन परियोजना, सुनकोशी–मरीन डाइभर्सन परियोजना, नारायणी सिँचाई परियोजना, बागमती सिँचाई परियोजना, कमला सिँचाई योजना र कोशी सिँचाई योजनालाई यथाशीघ्र सम्पन गरी यस प्रदेशको सिँचाई सुदृढ तुल्याउनु पर्दछ । पर्यावरणीय पक्षलाई दृष्टिगत गरी कृषिको आधुनिकीरण र व्यावसायीकरण गर्न ऊर्जाको सदुपयोग गरी सिँचाईको प्रवन्ध मिलाउनु पर्दछ ।
मुलरूपमा यस क्षेत्रमा हुने धान, मकै, गहुँ, तेलहन, दलहन, तरकारी, फलफूल, पुष्प खेती, मेवा खेती, केरा खेती, उखु खेतीलाई थप प्रतिफलमुखी बनाउन जमीनको चक्लाबन्दीसहित उन्नत बीउ, मल तथा सिँचाईको प्रवन्ध गर्नुपर्दछ । प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषालाई आँप सुपर जोन र धनुषाको ढल्केबर सर्लाहीको लावबन्दीसहितको बागमती सम्मको क्षेत्रलाई गोलभेँडा सुपर जोनको रूपमा विकास गर्ने योजनालाई प्रभावकारी तुल्याउनु पर्दछ ।
ताल तलैया, पोखरी, नदी प्रणालीले सुदृढ यस प्रदेशमा माछा खेतीलाई बढावा दिन नश्ल सुधार र स्थानीय माछाको अनुसन्धान गरी उत्पादन र उत्पादकत्व बढाउन धनुषास्थित मत्स्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्रलाई सुदृढ बनाउनु पर्दछ । यसबाट प्रदेश त माछामा आत्मनिभर हुन्छ नै यस प्रदेशको माछालाई ब्राण्डिङ गरी स्वदेश तथा विदेशमा समेत बजार विस्तार गरी आय आर्जन गर्न सकिन्छ । प्रदेशमा खाद्य परीक्षण प्रयोगशाला प्रवद्र्धन गर्न, कृषि वीमा कार्यक्रम सञ्चालन गर्न ध्यान दिनु पर्दछ ।
यहाँ उत्पादित आँप, तरकारी र फलफूलबाट सक्दो फाइदा लिन यस सम्बन्धी उद्योग तथा खाद्य संग्रहालय स्थापना गर्नसके रैथाने बालीको संरक्षण तथा खाद्य पर्यटनको समेत विकास हुने ठूलो संभावना रहेको छ । यहाँ उत्पादन हुने आँपको सदुपयोग गर्न चिस्यान केन्द्र, जुस तथा अचार उद्योगको विकास गर्नुपर्दछ । यहाँका ऐतिहासिक ताल तथा पोखरी र विभिन्न उद्यानहरूलाई सौन्दर्यीकरण गरी पर्यापर्यटनलाई प्रवद्र्धन गर्नसके स्थानीय समुदायको आयआर्जनमा ठूलो मद्दत मिल्नेछ ।
यस क्षेत्रको विकास, राष्ट्रको व्यापार घाटा न्यूनीकरण तथा आयात प्रतिस्थापनमा मद्दत पु¥याउनका लागि यहाँ तीब्र औद्यौगीकरण गर्नुपर्ने खाँचो रहेको छ । पर्सा जिल्लाको वीरगञ्ज आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्रको रूपमा रहेको नेपाल तथा भारतको अत्यधिक चहल पहल हुने सीमावर्ती भन्सार नाकालाई स्तरोन्नति गर्नसके उद्योग, व्यापार तथा बाणिज्य प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ । यसका लागि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई आधुनिकीकरण गर्न, हुलाकी राजमार्गलाई सम्पन्न गर्न, वीरगन्ज–पथलैया तथा राजविराज–रूपनी करोडार सुदृढ तुल्याउन र रेलमार्गको आसपासमा औद्योगिक क्षेत्र विकास गर्न ध्यान दिनु पर्दछ । मुलुक क्रमशः चिनीमा आत्मनिर्भर बन्दै जानुमा यस प्रदेशका चिनीमिलहरूको महत्वपूर्ण योगदान रहेको छ । यसका लागि उखु किसानको समस्यालाई समाधान गर्न जोड दिँदै उखु खेतीलाई थप आधुनिकीकरण र व्यावसायीकरण गर्न ध्यान दिनु पर्दछ । सबै किसिमका रुग्ण उद्योगलाई स्तरोन्नति गर्न आवश्यक ध्यान पु¥याउनु पर्दछ ।
यो साँस्कृतिक पर्यटनको ठूलो संभावना भएको क्षेत्रमा पर्दछ । राष्ट्रिय महत्वकै सांँस्कृतिक स्थलको रूपमा रहेको जानकी मन्दिरसँग जोडिएका ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक महत्वका सम्पदाहरू उजागर गरी यसको प्रचार प्रसार गर्न सक्दा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत पर्यटकहरू भित्र्याउन सकिने अवस्था रहेको छ । यस क्षेत्रको छठ पर्वको रौनक प्रस्तुत हुने जनकपुरका प्रख्यात गंगासागर र धनुषसागरको संरक्षण तथा सम्बद्र्धन गर्दै साँस्कृतिक पर्यटनमा जोड दिनु पर्दछ । यहाँ हर्षोल्लासपूर्वक मनाइने जीतिया र फागु पर्वको मौलिकतालाई ध्यान दिँदै थप सामाजिक सहिष्णुता र सद्भाव अभिबृद्धि गर्न पहल गर्नु पर्दछ । यस प्रदेशका गौरवका रूपमा रहेका सप्तरीको छिन्नमस्ता र बाराको गढिमाई धार्मिक साँस्कृतिक स्थलहरूको प्रचार प्रसारमा विशेष ध्यान दिनु पर्दछ । सिराहा जिल्लाको लाहनमा रहेको सलेश फुलवारीको संरक्षण, पूर्वाधार विकास र मौलिकतमा प्रतिकूल असर नपर्ने गरी सौन्दर्यीकरण गर्नसके साँस्कृतिक पर्यटन प्रवद्र्र्धनमा ठूलो योगदान पुग्ने निश्चित छ ।
पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा स्वास्थ्य तथा सरसफाई, शुद्ध पिउने पानी, अतिथिगृह, होटल तथा रेष्टुरेन्टसहित दक्ष र व्यावसायिक मानव संशाधन अति जरुरी छ । रोगव्याधी नियन्त्रण, सौन्दर्यीकरण, आपराधिक क्रियाकलापमा न्यूनीकरण, यात्रु तथा पर्यटकमैत्री वातावरण निर्माणका लागि खुला तथा सार्वजनिक क्षेत्रमा दिशा पिसाब र नुहाई धुवाई गर्ने प्रवृत्तिलाई निर्मूल पार्नुपर्दछ । यसका लागि निजी आवासमा अनिवार्य शौचालय बनाउनु पर्ने कुरामा जोड दिँदै शहर बजार तथा अन्य आवश्यक सार्वजनिक स्थानहरूमा सुदृढ शौचालयको प्रवन्ध गर्न ध्यान दिनु पर्दछ । यत्रतत्र खानेकुरा फाल्ने तथा पान, चुरोट, बिँडी, खैनीजस्ता चिजहरू खाएपछि यी सामग्रीका टुक्रा तथा रहलपहल जथामावी विसर्जन गर्ने प्रवृत्तिलाई रोक्नु पर्दछ ।
यहाँ भएका ऐतिहासिक साँस्कृतिक स्थलहरूलाई समेटेर प्रदेश पर्यटकीय सर्किटको विकास गर्नुपर्ने खाँचो रहेको छ । यहाँको समृद्ध संस्कृति, खानपान तथा मनोरञ्जनका पक्षहरूलाई समेटेर होमस्टेको व्यवस्था गर्नसके पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । रामायण सर्किट अन्तर्गत जनकपुर–अयोध्यालाई जोड्न रामजानकी पदचिन्ह भएका स्थानहरूको खोजी तथा संरक्षण गर्दै साँस्कृतिक पर्यटनलाई जोड दिनु पर्दछ । कोशी टप्पु वन्य जन्तु आरक्षलाई प्राकृतिक दुष्यावलोकन, जङ्गल सफारी, संग्रहालय तथा कोशीदेखि भोजपुरसम्म बोटिङ्गसहित आवश्यक पर्यटन पूर्वाधारको प्रवन्ध मिलाउनु पर्दछ । सिराहा जिल्लाको मिर्चैयास्थित कमल दहलाई संरक्षण गरी पर्यावरण तथा पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्दछ ।
यस प्रदेशको कृषि प्रणाली तथा समग्र मानव सभ्यतासँग जोडिएको चुरे क्षेत्रलाई पानी पुनर्भरण क्षेत्रको रूपमा विकास गर्न यहाँ हुने ढुङ्गा, गिटी, बालुवा, वनस्पतिको गैर कानूनी दोहनलाई रोक्नु पर्दछ । ‘चुरे जोगाउँ, मधेश जोगाउँ’ भन्ने यस क्षेत्रको संकल्पलाई साकार पार्नसके यहाँ हुने भू–क्षय, बाढि, अतिवृष्टि तथा अनावृष्टि, मरुभूमीकरण, कृषि भूमिको उर्वराशक्तिमा ह्रास आउने समस्या समाधान गर्न ठूलो मद्दत मिल्नेछ । यहाँको बन क्षेत्रलाई उत्पादनमूलक पारिस्थितीकीय प्रणाली विकासका आधारमा सुदृढीकरण गर्नुपर्दछ ।
हुरी बतास, शीतलहर, चट्याङ्ग, आगजनी, बाढी, सर्पदंश, मानव वन्यजन्तु द्वन्द्वबाट जनधनको क्षति हुन नदिन यहाँको परम्परागत तथा साँस्कृतिक वस्तीको मौलिकतामा प्रतिकूल असर नपर्ने गरी पूर्वाधारयुक्त पक्की आवास क्षेत्र विकास गर्नुपर्दछ । विपद व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याएर नागरिकहरू त्रासमा रहनु पर्ने वातावरणलाई समाप्त पार्नु पर्दछ । जनता आवास कार्यक्रम अन्तर्गत डोम, मुसहर, मेहतर र हलखोरको घर निर्माण गर्न उच्च प्राथमिकता दिएर दलित लोपोन्मुखलाई सहायता प्रदान गर्न अग्रसर हुनु पर्दछ । सुकुम्बासी समस्या समाधान गर्न र न्यून आय भएका तथा सीमान्तकृत समुदायको खाद्य सुरक्षा सुदृढ पार्न विशेष ध्यान दिनु पर्दछ ।
जनसंख्याको आधा हिस्सामा रहेका महिलाको चेतना, जागरण र आर्थिक सबलीकरण नभै समग्र समाजको विकास संभव हुँदैन । पूर्वाधारको पनि पूर्वाधारको रूपमा रहेको शिक्षाको उन्नयन राष्ट्रको उत्थान हो । यसै वास्तविकतालाई आत्मसात गर्दै प्रदेश सरकारले अगाडि सारेको संकल्प ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सार्थक तुल्याउन यसलाई प्रादेशिक गौरवको कार्ययोजना ठान्नु पर्दछ । छोरी बीमा कार्यक्रमलाई सुदृढ तुल्याउनु पर्दछ । यी कार्यक्रमहरू सफल हुँदा मानव सभ्यताको कलंकको रूपमा रहेका बोक्सी तथा छुवाछुत प्रथा अन्त गर्न ठूलो मद्दत मिल्नेछ । सार्वजनिक कुवा तथा ईनार एवं पानीका मूल र मुहानमा अछुत भन्दै पानीको प्रयोगबाट बञ्चित गर्ने प्रवृत्ति निर्मूल हुनेछ । बाल विवाह, अनमेल विवाह, दहेज तथा तिलक प्रथाजस्ता कारणले पारिवारिक विग्रह, एसिड आक्रमण, आत्महत्या, हत्या तथा महिला हिंसाका प्रवृत्ति समाजमा प्रकट भइरहेकाले यसको निर्मूलनका लागि सामाजिक चेतना तथा जागरण एवं सुरक्षा व्यवस्था सुदृढ तुल्याउनु पर्दछ । तस्करी, अपहरण तथा कर छली जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न सीमाक्षेत्रको सुरक्षा प्रवन्धलाई मजबूत बनाउनु पर्दछ ।
यस क्षेत्रको समथर भूमि पूर्वाधार विकासका लागि सहज परिवेश हो । कम लगानी तथा समयका हिसाबले पनि यस्ता स्थानमा चाँडो विकास गर्न सकिन्छ । यसको लाभ लिनका लागि सम्बन्धित पक्ष सधै सजग, जागरुक र सक्रिय हुनु पर्दछ । यस प्रदेशमा रहेको सुकुम्बासी समस्या समाधान गर्दै बाँझो जमिनमा उपयुक्त बाली लगाउने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्दछ । शारीरिक तन्दुरुस्ती, स्वस्थ्य मनोरञ्जन तथा प्रतिभाको खोजी गर्न यस क्षेत्रमा खेलिने कुस्ती, कबडी, टिका ठाडी, हुरा, फुटबल, भलिबल, क्रिकेटजस्ता खेलकूदको आवश्यक अध्ययन तथा अनुसन्धान गर्दै खेलकूद पूर्वाधार विकास गर्न मनग्ये लगानी गर्न सम्बद्ध पक्ष हिच्किचाउनु हुँदैन ।
सप्तरी राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पस, धनुषा जनकपुरधामको रामस्वरूप रामसागर क्याम्पस तथा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्तरोन्नति गर्दै यहाँको उच्च शिक्षाको पठन पाठनलाई सुदृढ तुल्याउनु पर्दछ । यी ऐतिहासिक शिक्षण संस्था स्थापना गर्ने यस क्षेत्रका लोकप्रिय दानवीर शिक्षाप्रेमी तथा समाजसेवीहरूको उदात्त भावनाबाट प्रेरणा लिँदै यहाँका उद्योगी, व्यावसायी तथा व्यापारिहरूले समाज सेवाका क्षेत्रमा क्रियाशील बन्नुपर्दछ ।
प्रस्तावित राजश्री जनक विश्वविद्यालयलाई चाँडै सञ्चालनमा ल्याउन ध्यान पुग्नु पर्दछ । जनसंख्याको हिसाबले उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्राज्ञिक संस्थाहरू न्यून रहेको परिवेशमा विद्यालय तहदेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षामा ध्यान दिँदै भएका शिक्षण संस्थाको भौतिक सम्पत्तिको भरपुर सदुपयोग गर्दै थप भौतिक तथा शैक्षिक पूर्वाधार विकासमा जोड दिनु पर्दछ । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्दै गुणस्तरीय दिवा खाजाको प्रवन्धनमा कमी हुन दिनु हुँदैन । नेपालको पहिलो जनकपुर जयनगर रेलवे सेवा अहिले सुदृढ बनिरहेको छ । हाम्रो देशको गौरवको रूपमा रहेको जनकपुर रेलवे सेवाको थप विस्तार र नियमित गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन, पर्यटन प्रवद्र्धन तथा यात्रु सेवामा ठूलो योगदान पुग्नेछ । अब विद्युतीय सवारी साधनको प्रगोगमा उच्च प्राथमिकता दिँदै यातायात सेवालाई सुचारु गर्न सक्दा एकातर्फ विद्युत खपत हुन्छ भने अर्कातिर पर्यावरण प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।
देश समृद्धिको यात्रामा अगाडि बढिसकेको परिवेशमा प्रदेश नं. २ लाई पनि त्यस दिशामा सँगसँगै अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहबीच सुदृढ समन्वय आवश्यक पर्दछ । यसका लागि राजनीतिक दलहरूबीच बलियो सहकार्य र समझदीसहित नेतृत्व तथा कार्यकर्ता तहमा उच्च लोकतान्त्रिक संस्कृतिको विकास गर्नुपर्दछ । यसबाट स्वस्थ्य राजनीतिक प्रतिष्पर्धाप्रति झुकाव हुने र सामाजिक–आर्थिक उत्थानमा हानथाप नभई अपनत्वभाव विकास हुने अवस्था सिर्जना हुन्छ । फलस्वरूप समग्र समाजलाई नै समृद्धिको यात्रामा डो¥याउन मद्दत पुग्नेछ । अब वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक सबै प्रकारका विभेद र असमानताहरु समाप्त पारेर सामाजिक न्याय र समानतामा आधारित प्रतिष्ठित नेपाल नै साझा लक्ष्य भएको परिवेशमा यस प्रदेशले पनि त्यसलाई गहिरोसँग आत्मसात गर्दै यहाँका अथाह स्रोत, सम्पदा र साधनको दिगो परिचालन गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । यस कुरामा नै मुलुकको समग्र सामाजिक–आर्थिक उन्नति जोडिएको छ ।
प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार ९ : ३८ बजे
प्रतिक्रिया