हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडले खुसी ल्याउँछ कि, खुसीले चाड बोलाउँछ ?

अमेरिकाको भरमोन्ट विश्वविद्यालयका ए.डब्ल्यु. सडलर भन्छन्, ‘पर्व : भोज र उत्सवको समय, मेरो शब्दकोशले भन्छ; मनोरञ्जनको आवधिक मौसम । आधुनिक मानिस उत्सवमा मनोरञ्जन गर्न तयार हुन्छ । तर चाडपर्वमा सहभागी हुन नपाउँदा ऊ असहज छ ।’

चाडपर्व र खुसी बीचको अन्तरसम्बन्धका बारेमा प्रतिनिधिमूलक उक्त भनाईबाट स्पष्ट हुन्छ ति दुई कसरी अन्योन्याश्रित छन् । प्रज्ञा नेपाली बृहत शब्दकोशका अनुसार खुसी ‘मनमा हुने सुखद अनुभूति’ र चाड ‘उत्सव मनाइने वा भोज खाइने समय वा दिन’ हो । वास्तवमा चाडवर्प प्राचीनकालदेखि चल्दै आएका सभ्यताका उम्दा नमूनाहरू हुन् । कतिपय जातिगत पर्वहरू हुँदाहुँदै पनि समाजमा घुलमिल हुँदै जाँदा सबै चाडमा मानिस आबद्ध हुँदै आएको पाइन्छ । छिटफुट रूपमा यस्तो अन्तरघुलन, सहिष्णुता र सद्भावलाई बिथोल्ने प्रयास भएपनि ती षड्यन्त्रहरू असफल भएका छन् । सबै समुदायले मिलेर सम्पूर्ण पर्वलाई उत्तिकै सम्मान दिएका छन् र तिनलाई मनाउँदै पनि आएका छन् । त्यसो त पुँजीवाद प्रवद्र्धित अहिलेको भुमण्डलीकरण प्रक्रियाले हाम्रा मौलिक परम्परा र संस्कृतिहरू अतिक्रमित बनिरहेकाले यिनको संरक्षणमा ध्यान दिनुपर्दछ ।

मूलतः हिन्दु धार्मिक/साँस्कृतिक सम्प्रदायले धुमधामसँग मनाउने दशैँ, तिहार, छठजस्ता चाडहरूले घरआँगन, टोल, चोक, वस्ती छपक्कै छोपेका छन् । पछि माघी, फागु, उधौली, उभौली, ल्होसार, तीज, जीतिया, इद, क्रिसमस, गाइजात्रा, इन्द्रजात्राजस्ता पर्वहरू आउँछन् । पछिल्लो तथ्याङ्क अनुसार १४२ जातजातिको विविधतायुक्त बान्कीमा सुन्दरतापूर्वक उनीएको यस मुलुकमा हरेक जातिका आ–आफ्नै चाडवर्प, खाद्यसंस्कृति र यससँग सम्बन्धित विविध विशेषताहरू हुन्छन् । चाडहरू प्रायः मीठो खाने राम्रो लाउने किसिमका छन् । अध्ययन तथा व्यवसायको सन्दर्भमा स्वदेश तथा विदेशमा रहे बसेका आफन्तजन पुरानो थातथलोमा पर्किने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, सद्भाव र सहिष्णुता प्रकट गर्ने चाडको विशेषता हो । ती सबै मौलिक पर्वको चर्चा गर्नु यहाँ संभव हुँदैन ।

मुलुकको लगभग सबै जनसंख्यालाई सम्मुख रहेका पर्वहरूले छोएका छन् । हिन्दु बाहेकका परम्परामा हुर्केबढेकाहरू समेत कुनै न कुनै रूपमा यस माहोलमा सहभागी हुने, रम्ने, मनोरञ्जन गर्ने गर्दछन् । गच्छेअनुसार रैथाने साँस्कृतिक र आयातित खानपान गर्ने, नयाँ पोशाक÷वेशभूषा लगाउने, गीत सङ्गित सुन्ने सुनाउने, पीङलगायत अनेकौँ किसिमका खेल खेल्ने, सद्भाव र सहिष्णुता साटासाट गर्ने कार्यमा मग्न हुन्छन् । यस्ता पर्वले मानिसलाई मानसिक तथा शारीरिक रूपमा बलियो समेत बनाउँछन् । यो हाम्रो मुलुकको मौलिक र जोगाइराख्नुपर्ने असल परम्परा हो । यसबाट नेपाल र नेपालीको पहिचान विश्वसामू स्थापित गर्न मद्दत पुग्नेछ ।

तर ती चाडपर्वले कुरा बुझ्न सक्ने शतप्रतिशत जनसंख्यालाई उत्तिकै उमङ्ग, उत्साह र मनोञ्जन दिइरहेका हुन्छन् त ? यसको जवाफ दिन त्यति गाह्रो छैन । स्पष्ट छ कि सबैलाई यस्ता चाडपर्वहरूले खुसी ल्याउन सक्दैनन् । घिसारिएरै भएपनि बालबच्चाको खुसीको निम्ति, परिवारका सदस्यको चाहनाको लागि र समुदायमा घुलमिल हुन सजिलो बनाउन यी पर्वलाई औपचारिकतावश घरघरमा मनाउने गरेको पाइन्छ । त्यसो त परिवारमा परेको वियोग, दुःख र असहजताले कुनै चाडपर्व खल्लो हुनु स्वाभाविक हो तर सधैँ यस्तो हुनेगर्दैन ।

चाडपर्वले कस्तो अवस्थामा मानिसमा खुसी ल्याउँछ ? खुसीले चाडपर्व कसरी बोलाउँछन् ? खुसी के हो भन्ने बारेमा धेरै अनुसन्धान भएका छन्, अझै हुँदै जालान् । खुसीका बारेमा धेरैले विभिन्न कोणबाट परिभाषा गरेका छन् । प्रसिद्ध दार्शनिक अरस्तु भन्छन्, ‘खुसी आफैंमा निर्भर गर्दछ ।’यो आदर्शयुक्त परिभाषा हो । खान नपाएर भोकाएको व्यक्ति चाडमा हृदयदेखि नै खुसी हुनसक्छ ? केही आवश्यकता पूरा हुँदै जाँदा अरु माग बढ्दै जान्छन् र त्यो नपाउन्जेल मानिस खुसी हुँदैन । यो मानवीय प्रवृत्ति हो । अनि व्यक्ति, परिवार, समाज र सिङ्गो राष्ट्र खुसी हुने आधारहरू फरकफरक हुन्छन् । मानिस समय, परिस्थिति, उमेर, चेतनाको स्तर अनुसार पनि खुसी हुने कि नहुने, थोरै खुसी हुनेकि धेरै खुसी हुने भन्ने हुन्छ । तर यति हँुदाहुँदै पनि मानिस गास, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत आवश्यकता पूरा हुँदा एकहदसम्म खुसी हुन्छ । यति कुरा परिपूर्ति हुँदा चाडमा मानिस खुसी नै हुन्छ ।

मानव सभ्यताको विकासक्रममा जीउन सहज, सरल र उल्लासमय बनाउनका लागि चाडपर्व विकास तथा विस्तार भएका हुन् । कालान्तरमा यस्ता चाडले धार्मिक एवं सांस्कृतिक स्वरूप ग्रहण गरे । जब यसको जन्म नै हर्ष, आनन्द र सुखका निम्ति भएको हो भने चाडपर्वले मानिसलाई खुसी नै दिन्छ । कर्म गर्दा लागेको थकान मेटाउन, मानसिक तनावलाई हटाउन र मनोरञ्जन गर्न चाड मनाउन थालिएको हो । यस अर्थ पर्वले व्यक्तिको दैनिकीमा रौनक थप्दछ । त्यसकारण जस्तै दुःख र कष्ट व्यहोरिरहेको भएपनि सभ्यताले आत्मसात गर्दै आएको चाडपर्वको उल्लासमा मानिसले पीडा भुल्ने कोशिस गरिरहेकै हुन्छ । सिङ्गो समाज खुसीको रङमा रङ्गिएर जीवनको गाडा गुडाइरहेकै हुन्छ । यसरी चाडपर्वले मानिसमा खुसी ल्याइरहेका हुन्छन् । साँस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता चाडको महत्वलाई सबैले आत्मसात गर्दछन् ।

तर जीवन हाँसो र खुसीको संगम भएकाले सधैँ चाडबाडले सुख नै ल्याउँछन् भनेर ठोकुवा गर्न सकिँदैन । चाडहरू निश्चित मिति र तिथिमा मनाउने गरिन्छ र सोही बेला अनेकौँ दुःखहरू घरपरिवार, समाज र देशले व्यहोर्न बाध्य हुन्छन् । यस्तो अवस्थाका चाडले सबैलाई सुख र उल्लास दिँदैन । बरु चाडले पीडा दिएर जान्छ । यसपाला यीनै चाडपर्वको मुखमा मुलुकमा अप्रत्यासित रूपमा आएको बाढी, पहिरो र डुबानले करिब अढाइ सय मानिसको ज्यान लियो, ठूलो संख्यामा घाइते बनायो, करिब बीस हजारले उद्दारको प्रतिक्षा गर्नुप¥यो । अन्नपात पानीले बगायो र नष्ट भयो । लगाएको बाली, पालेका पशुपन्छी र माछा सखाप बनायो । एक आँकडा अनुसार करिब दश हजार परिवार विस्थापित बने, घरबारबिहिन बने । यस्तो पीडामा परेको मानिसलाई यी चाडहरूले खुसी दिन सक्दैनन् । यो एउटा उदाहरण मात्रै हो । यस्ता अरु पनि छन् । त्यसैले चाडवर्पले सधैँ मानिसको मुहारमा खुसी मात्र दिँदैनन् बरु मनमा अमिले छर्किन्छन् र थप ऋणको गह्रुङ्गो भारी बोकाएर बिदा हुन्छन् ।

समाजको आर्थिक सम्पन्नता र समृद्धिले समुदायमा खुसी ल्याउँछ । यस्तो खुसीले मानिसलाई उत्साह, उमंग, जोश र जाँगरले भरिपूर्ण बनाउँछ । त्यसैले उसलाई राम्रो खाने, राम्रो लाउने, खेलवाड गर्ने, डुलफिर गर्नेगरी सधैँ चाड आइरहेको हुन्छ । पूर्वनिर्धारित तिथि र मितिमा त उसले चाडलाई झकिझाउढङ्गले मनाउने नै भयो । यस अर्थमा चाड आउनु र नआउनुमा उसलाई खासै अर्थ पनि हुँदैन । उसले जुनसुकै बेला पनि चाड मनाउन सक्दछ । आफ्नो मिहिनेत र पसिनाले आर्जन गरेको सम्पत्तिको सदुपयोग गर्दै जीवनलाई सधैँ हासिखुसीयुक्त बनाउनुलाई राम्रो नै भन्नु पर्दछ । प्रश्न के मात्र हो भने समाजको हरेक सदस्यलाई आयआर्जनको निम्ति उचित अवसर प्रदान गरेर अरुको दाँजोमा उसलाई पनि पु¥याएर सधै खुसी तुल्याउन वातावरण बनाउन राज्य अग्रसर हुनुपर्दछ । मुलुकमा गरिबीको रेखामुनी रहेको २० पतिशत भन्दा बढि जनसंख्याको आर्थिक उन्नतिका निम्ति ध्यान पु¥याउनु पर्दछ । यसका निम्ति सामाजिक न्याय र समानतामा आधारित राज्यव्यवस्था स्थापना हुनुपर्दछ ।

परिवार, समाज र राज्यले दुःख पाएर खुसी हुन नसकेका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई आ–आफ्नो ठाउँबाट माथि उठाउन प्रयास गर्नुपर्दछ । यसपटकको पर्वको सम्मुखमा आइलागेको प्राकृतिक विपत्तिबाट बाहिर निकाल्न सरकारले प्रभावकारी लोककल्याणका कार्यक्रम ल्याउनु पर्दछ । यसका लागि अब राहत र पुर्नस्थापनाको कामलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्दछ । यसो गर्न सक्दा आँगनमै आइपुगेका चाडमा सबै नेपालीहरूलाई थोरै नै भएपनि खुसीका पलहरू बाँड्न सकियोस् । यसो गर्न सक्दा नै यस्ता पर्वका माध्यमबाट आफूभन्दा ठूला र मान्यजनबाट आशिष ग्रहण गर्न सकिने अवस्था आउनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ८ : ११ बजे