बाढीको स्थितिमा सुधार

प्रमुख पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा हिमपात

​​​​​​काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । 

चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिनुभयो । 

चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिउँ जम्मा भएको छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातीदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।

​​​​​​​

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : २७ बजे