बाढीको स्थितिमा सुधार

दार्चुलामा भारी हिमपात, जनजीवन कष्टकर

​​​​​​​दार्चुला । दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ । 

मङ्गलवार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँ बस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी दिनुभयो।

ब्यास गाउँपालिकाको कार्यालयभन्दा तल्लो क्षेत्रसम्म हिउँ पुगेको छ । हिउँ निरन्तर परिरहेको उहाँले बताउनुभयो । हिमपातले चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ ।

ब्यास गाउँपालिका–३ को सीना तुसरपानी, २  को राप्ला, दुम्लीङ, ४ को सुन्सेरा, डोक, ५ को धौलाकोट र ६ को हुती लगायतका बस्तीमा हिउँ परेको छ । 

कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ ।

हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मङ्सिर महिनामा नै दार्चुला सदरमुकाम खलङ्गा झरिसकेका छन् । 

तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ । 

दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्ती दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका स्थानमा समेत हिमपात भएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : ११ बजे