पृथ्वी राजमार्ग जोड्ने नियमित सडक हुन सक्छ ‘टोखा–छहरे–गल्छी खण्ड’

काठमाडौँ।त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे खण्डको विकल्पमा अहिले काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनले धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग गर्न थालेका छन् । खासगरी यही असोज दोस्रो साताको अविरल वर्षापछिको पहिरोबाट उक्त सडक झण्डै तीन दिन अवरुद्ध भएपछि स–साना सवारी साधनले वैकल्पिक मार्गका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडकलाई प्रयोग गर्न थालेका हुन् ।

हिजोआज अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के तथा टोखा–छहरे–गल्छी हुँदै पृथ्वी राजमार्गमा निस्कने गरेका छन् । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइको छ । सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा पुगिन्छ ।

नागढुङ्गा–नौबिसे खण्डको विभिन्न स्थानमा सडक भत्केको तथा काठमाडौँबाट बाहिरिने सवारी साधनको चापका कारण अत्यधिक जाम हुन थालेपछि साना सवारी साधनले बैकल्पिक मार्गका रूपमा ती सडक प्रयोग गर्दै आएका छन् ।

नुवाकोट र रसुवालाई काठमाडौँसँग जोड्ने टोखा–छहरे सडक खण्डमा अहिले काठमाडौँबाट पश्चिमी नेपालतर्फ जाने सवारी साधनका कारण चाप निकै बढेको छ । सामान्य अवस्थामा दैनिक करिब चार सय सवारी साधन गुड्ने टोखा–छहरे खण्डमा अहिले दुई हजार गाडी गुड्ने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख आशुतोषबहादुर शाही काठमाडौँ जाने यात्रुवाहक सवारीसाधनको सङ्ख्या दैनिक एक हजार हाराहारीमा भए पनि काठमाडौँबाट बाहिरिनेको सङ्ख्या असोज १३ गतेदेखि वृद्धि हुँदै गएको बताउनुहुन्छ ।

प्रहरी निरीक्षक शाहीकाअनुसार घटस्थापनापश्चात दैनिक एक हजार पाँच सय भन्दाबढी माइक्रोबस, मिनीबस तथा बस नुवाकोट हुँदै पृथ्वी राजमार्ग निस्किरहेका छन् । बुधबार मात्रै काठमाडौँबाट बाहिरिएका दुई हजार भन्दाबढी यात्रुवाहक सवारी नुवाकोट हुँदै पृथ्वी राजमार्ग प्रवेश गरेका छन् ।

दुईपाङ्ग्रे र निजी सवारी साधनको तथ्याङ्क जोड्ने हो भने सो खण्ड प्रयोग गर्नेको सङ्ख्या दैनिक पाँच हजार भन्दाबढी हुने प्रहरीको भनाइ छ । “टोखा–छहरे सडक हुँदै यसअघि नुवाकोट र रसुवासहित धादिङका केही भेकका यात्री आउजाउ गर्ने गरेकामा विपद्बाट नागढुङ्गा–नौबिसे सडकमा आएको अवरोध र उक्त सडकमा भइरहेका सवारीसाधनको जामको समस्याले अहिले धेरै यात्रुको रोजाइमा यो सडक परेको छ”, प्रहरी निरीक्षक शाहीले भन्नुभयो ।

नयाँ बसपार्कबाट ७३ किमीमा पुगिन्छ गल्छी

गोङ्गबुँस्थित नयाँ बसपार्कबाट झोर (काठमाडौँ)– छहरे (नुवाकोट) र गल्छी (धादिङ) हुँदै पृथ्वी राजमार्गमा पुग्न सकिन्छ । नयाँ बसर्पाकबाट ७३ किमी दूरीमा गल्छी पुग्न सकिन्छ । दुई लेनको उक्त खण्डको पुरै भाग कालोपत्रे अवस्थामा छ । छोटो दूरी तथा कालोपत्र सडकका कारण यो खण्ड चालक र यात्रुको रोजाइमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइराला बताउनुहुन्छ ।

नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा हालैको अविरल वर्षाबाट कुनै प्रभाव नपरेका कारण निरन्तर सञ्चालनमा भइरहेको यस सडक दुई लेनको कालोपत्रेसहित भएकाले यात्रीलाई आउजाउ गर्न निकै सहज रहेको बताउनुहुन्छ । दुई लेनको पक्की सडकका रुपमा रहेको यस खण्डलाई नागढुङ्गा–नौबिसे सडकको बिकल्प नभई नियमित रुपमा चल्ने मार्ग बनाउन सकिने व्यवसायी सापकोटाको सुझाव छ ।

“यही सडकमा सुरुङ बनाई अन्तर्राष्ट्रिय राजमार्ग बनाउन सरकारबाट प्रारम्भिक अध्ययनको काम भइरहेको छ”, उहाँ भन्नुहुन्छ, “राष्ट्रिय राजमार्गका रूपमा सञ्चालन गर्न हाल कायम रहेको सडक नै पर्याप्त भएकाले सामान्य स्तरोन्नति गर्न सकिए काठमाडौँलाई बाहिरी जिल्ला जोड्न पृथ्वी राजमार्गको विकल्प नभई नियमित सडक मार्गको रूपमा चलाउन सकिन्छ ।”

टोखा–छहरे सडकलाई वैकल्पिक मार्ग नभई नियमित सडकका रूपमा प्रयोगमा ल्याउन सरकारले सुरुङ मार्ग बनाउने प्रस्ताव अघि बढाएको हो । योजना पूरा हुन समय लाग्ने भएकाले विद्यमान सडकअन्तर्गत काठमाडौँको झोरदेखि नुवाकोटको थानापतीसम्म १४ किमी खण्डमा पर्ने घुम्तीको सुधार र साँघुरा सडकमा टेवा पर्खाल लगाउन सकेको अवस्थामा सो सडक निकै सहज हुनेछ ।

छहरेदेखि गङ्गटेसम्म मध्यपहाडी सडक पर्छ । गङ्गटेदेखि गल्छीसम्म ‘गल्छी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्गको ‘डेडिकेडेट डबल लेन’ को सडक भएकाले काठमाडौँबाट छहरे हुँदै गल्छीसम्म सवारी सञ्चालन सहज छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : ४९ बजे