पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’

तनहुँ।तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरुको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ ।

तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु झाँगाझोली आउन छुटाउँदैनन् । विशेष गरी साँझको समयमा पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय शङ्रप्रसाद अधिकारीले बताउनुभयो । रातिको समयमा यहाँबाट गौरादेवी उद्यानको अवलोकन गर्न पर्यटक लालायित हुने गरेका उहाँको भनाइ छ ।

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटरको दूरीमा झाँगाझोली रहेको छ । अधिकारीसहित तीनजनाले पर्यटकको आगमनलाई ध्यानमा राख्दै यहाँ करिब १७ रोपनी क्षेत्रफलमा रु दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन गर्नुभएको छ ।

दसैँ बिदा भएसँगै व्यवस्थित बाल उद्यानमा रमाउन यहाँ आउने बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । राति १० बजेसम्म पर्यटक यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । विशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणमा रमाउन आउने गरेका छन् । “अहिले दिनमा तीन सयसम्म पर्यटक घुम्न आउने गरेका छन्”, अधिकारीले भन्नुभयो ।

झाँगाझोलीमा अर्गाानिक तरकारीखेती समेत सुरु गरिएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको रिसोर्ट सञ्चालक उज्वल पौडेलले बताउनुभयो । यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो । एकीकृत नमूना कृषितर्फ च्याउ र मौरी जडीबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जङ्गलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्तस्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ ।

सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्र गर्न रु एक करोड विनियोजन गरेपश्चात ठेक्का सम्झौता भइसकेको छ । त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्र गर्न रु ५० लाख विनियोजन गरेको छ । सडक कालोपत्र गरिए यस क्षेत्रमा पर्यटकको आगमन अझै बढ्ने स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  २ : ३३ बजे