साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कौशीले दिएको  रोजगारी र स्वाद 

काठमाडौं । शहरमा तरकारी खेती गर्नका लागि जग्गा जमिन नै आवश्यक पर्छ भन्ने हुँदैन । इच्छा र जाँगर भएमा घरका कौशीमा पनि तरकारी फलाउन सकिन्छ ।   पहिले जस्तो तरकारी खेतीगर्न जमिन छैन भनेर चिन्ता गर्नुपर्ने अवस्था अहिले छैन । कौशी खेती पछिल्लो समय निकै लोकप्रिय पनि बन्दै गइरहेको छ ।  इच्छ्या र जाँगर भएमा घरको कोशीले नै रोजगारी दिनसक्छ र हरेक दिनको परिकारमा नयाँ नयाँ  तरकारी खान सकिन्छ भन्ने उदाहरण बनेकी छन् तारकेश्वर नगरपालिका ९ मनमैजुकी सुजता अधिकारी । 

अधिकारीले आफ्नै घरको छतमा लोभलाग्दो तरकारी खेती गरेर धेरैको वाहवाहीसमेत बटुलिरहेकी छन् । घरको छतमा  बजारबाट पोलिथिन ब्याग, गमला र विभिन्न प्रकारका क्यारेट ल्याएर तिनमा माटो र प्राङगारिक मल भरेर उनले छतभरि तरकारी, फलफूल र बेमौसमी फूलको खेती गर्दै आइरहेकी छिन् । 

उनले विभिन्न थरिका तरकारी र ३,४ प्रकारका फलफूल आफ्नै कौशीमा फलाइ कौशीलाई हरियाली बनाएकी छन् । हरेक मौसमसँगै फल्ने तरकारी तथा फलफूलले आफ्नो घरलाई नै हरियाली बनाउँदा आफ्नो मन प्रफुल्लित हुने गरेको उनी बताउँछिन् । ‘मौसम अनुसारको तरकारी आफ्नै कौशीमा फल्ने भएकोले बजारबाट किन्नु पनि पर्दैन आफन्तलाई पनि आफैले फलाएको तरकारी र फलफूल बाढ्छु ।’ उनले भनिन् । अधिकारीले आफैले फलाएको अर्गानिक तरकारी र फलफूल दैनिकजसो खाँदा आफू निकै  स्वस्थ हुँदै गइरहेको भान हुनेगरेको बताइन । 

शहरी क्षेत्रमा फोहोर अत्यधिक मात्रामा उत्सर्जन हुने गर्छ । दैनिक रूपमा फोहोर सङ्कलन गर्ने गाडी नआउँदा धेरैले घरको फोहोरलाई सडकमा लगेर फ्याँक्ने गर्छन् । कतिपयले घरमै बाध्यताले बोरामा खाँदेर पनि राख्ने गर्छन् । यस्तो बेलामा ती फोहोरलाई सदुपयोग गरी घरमै तरकारी खेतीमा प्रयोग गर्दा दोहोरो फाइदा हुने गरेको उनी बताउँछिन् । ‘एकातिर फोहोर व्यवस्थापनको समस्या पनि नहुने अर्कोतर्फ, ताजा  र सफा तराकारी खान पाइयो’ अधिकारीले दङ्ग गर्दै सुनाइन् । 

​​​​​​​​​​​​​​

अधिकारीले कौशीमा सुन्तला,काउली,खुर्सानी,बोडी,कागती,बन्दा जस्ता फलफूल तथा तरकारी खेती गर्दै आइरहेको बताइन् ।  तरकारीसँगै उनले विभिन्न जातका फूल, घ्यूकुमारी जस्ता जडीबुटी पनि हुर्काउन भ्याएकी छन् । छतमै तरकारी फल्न थालेपछि अधिकारीलाई १ वर्षदेखि बजार गएर हरियो तरकारी किन्नु परेको छैन ।“अधिकारीले छतभरी प्लास्टिकका झोलामा तरकारी र फलफूल अटाएकी छन् । “ घरलाई खान पुग्ने तरकारी फलेको छ, बजारबाट किन्नु परेको छैन,बरु आफन्तलाई बाँडेकी छु ” उनले भनिन् ।

आफूसँग जग्गा छैन भनेर चिन्ता गरेर बेरोजगार बस्नु भन्दा कौशी खेती गर्नु सबैभन्दा राम्रो विकल्प रहेको उनी बताउँछिन् । अधिकारीले ग्रिन लाइफ फार्मिङ एक्जिभेसन एन्ड ट्रेडबाट देशका विभिन्न ठाउँमा तालिम सञ्चालन गरिरहेकी छिन् । उनले नेपालको विभिन्न ठाउँमा पुगी कौशी खेती सम्बन्धी अभियान समेत सञ्चालन गरिरहेको बताइन् । 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : १० बजे