बढी भाडा लिने ३१ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ ।

चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिएका छन् ।

चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिदै आएको छ । चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ । यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिए ।

गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्रि गर्दै गरेको अवस्थामा टिकटको ठेली सहित एक जना भने आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा छन् ।

यात्राका क्रममा कसैले अनावश्यक दुख: हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिकप्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : ५३ बजे