बढी भाडा लिने ३१ जना नियन्त्रणमा

१७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, आठको मृत्यु

काठमाडौँ। देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्की, काठमाडौंँ, तनहुँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। दाहालका अनुसार कास्कीमा दुई हजार ७०९, काठमाडौँमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा एक हजार ४२१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८, स्याङ्जामा २९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।

प्रदेश अन्तर्गत गण्डकी, बागमती,लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा आठ हजार ६२, बागमती प्रदेशमा पाँच हजार ५७१, कोशी प्रदेशमा एक हजार ४२२ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३ र सुदूरपश्चिम प्रदेशमा ८१८ जनामा डेंगु पुष्टि भएको छ।

डेंगु कस्तो रोग हो

डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताउनुभयो। उहाँ भन्नुहुन्छ, “डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ।” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन्। सङ्क्रमण भएको चारदेखि १० दिनसम्म सामान्यतया डेंगुका लक्षण देखिन्छ ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन्। डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा.पुन बताउनुहुन्छ। डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो।

डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाहबिना कुनै पनि औषधीको सेवन नगर्न डा.पुनको सुझाव छ। बिरामीलाई असाध्यै जोर्नीमा दुःखाइ भएमा, तारन्तार वान्ता भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा.पुनको सुझाव छ।

घरमा बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जिउ दुख्न कम गर्नको लागि प्यारासिटामोल खान डा. पुनको सुझाव छ। बिरामीले झोलिलो खानेकुरा प्रशस्त खान उहाँको आग्रह छ। लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन, सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : ४२ बजे