स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् ।

दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताउनु भयो ।

भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नभयो, ‘‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’’

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफैं पनि श्रोत बढाउने प्रयास गरिरहेका छौं ।’’ संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र सङ्गठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक श्रोत थप गर्नुपर्ने जोड दिएका छन् ।

बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गर्नुभयो । त्यसक्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गर्नुभयो

उहाँले संगठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा संगठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाउनु भएको जानकारी उहाँको सचिवालयले दिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ११ : ३१ बजे