प्रसूति तथा स्त्रीरोग अस्पतालले दसैँ बिदामा पनि सेवा दिने

काठमाडौँ। काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो ।

दसैँ, तिहार लगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताउनुभयो । उहाँले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताउनुभयो ।

अस्पतालले दसैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिर्ने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपिडी सेवा बन्द भए पनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पहिले नै प्रिपिएर भएर बस्छौँ ड्युटीमा रहेका कुनैपनि डाक्टरले बिदा नलिने र त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ ।

उहाँहरूले आफ्नो समूहमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने नियम बनाइएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौँ । र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौँ । बच्चा कम चल्यो । मानौँ, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो । अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरूलाई मलाई केही भयो कि भन्ने शङ्का लाग्यो भने उहाँहरूले बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाइरेक्टर आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एक्स-रे लगायतका गरेर बरु घर जान सकिन्छ ।”

ड्युटीमा कम्तीमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरू १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै उपलब्ध हुनेछन् ।

दसैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेक अन्य सार्वजनिक बिदाहरूमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा। अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरूको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताउनुभयो ।

यस्तै, अस्पतालमा हाल गर्भवती महिलाहरूको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको सङ्ख्या बढेर महिनामा करिब २ हजारको सङ्ख्या पुग्ने गरेको पनि निर्देशक डा। अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : ४३ बजे