दलित गाउँका पहिलो शिक्षक

प्रक्रिया पुरा नगरी ढुंगा उत्खनन गरेको भन्दै जेसिभी चालक पक्राउ

खोटाङ – प्रक्रिया पुरा नगरी ढुंगा उत्खनन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले निर्माण कम्पनी सम्बद्ध जेसिभी तथा व्याकहोलोडर चालकलाई नियन्त्रणमा लिएको छ । दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) खण्ड कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीका जेसिभी तथा व्याकहोलोडर चालक महेन्द्र राई र झनकनाथ तिमिल्सेनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

दिक्तेल–आहाले सडक खण्डको खाल्ले क्षेत्रमा प्रक्रिया पुरा नगरी सडकभन्दा माथि डोजर लगाएर ढुंगा निकालेको पाइएकाले दुई जना चालकलाई ‘होल्ड’ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । ‘डाँडोमा डोजर चलाएर खनिरहेको पाइएको छ । निर्माण कम्पनीले कागजपत्र देखाउन सकेन । अनुमति लिएको पनि देखिएन,’ डिएसपी लम्सालले भने, ‘प्रक्रिया पुरा गरेर ढुंगा निकाल्ने काम गर्नुपर्छ । ढुंगा झिक्ने काम होल्ड गरिएको हो ।’ 

नेपाल निर्माण व्यवसायी संघ खोटाङले भने दुई चालकलाई विना कारण प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा दुई चालकलाई अवैधानिक रूपमा पक्राउ गरी दिनभर बन्धक बनाइएको नेपाल निर्माण व्यवसायी संघको विज्ञाप्तीमा उल्लेख छ । संघले गैर–कानुनी रूपमा पक्राउ गरी मानव अधिकार उल्लंघन गर्ने प्रहरीमाथि कारबाही माग गरेको छ । 

जेसिभी तथा व्याकहोलोडर चालकलाई प्रहरीले साँझ छाडेको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीका प्रतिनिधि खगेन्द्र राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमतिमा स्थानीय परशुराम दाहालको ढुंगा खानी किनेर सडक कालोपत्रेको काममा प्रयोग गरिरहेको निर्माण कम्पनीले जनाएको छ । 

निर्माण कम्पनीले सडक कालोपत्रेको कामका लागि ढुंगा झिक्न र क्रसर चलाउने प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमति पाएको हो । कतिपयले भने सडकको कामका लागि अनुमति दिइएको ढुंगा गिट्टी अन्यत्र विक्री गरिएको गुनासो गरेपछि मुख्य ठेकेदारलाई सोधपुछ गर्नुपरेको नगर प्रमुख दिपनारायण रिजालले बताए । 

‘विकास निर्माणका लागि सम्बन्धित ठाउँकै श्रोत प्रयोग गर्ने हो । सडककै कामका लागि ढुंगा झिक्ने अनुमति दिएकै हो,’ रिजालले भने, ‘दायाँ–बायाँ गरेको छ र कानुन विपरीत भएको छ भने कारबाहीको दायरामा ल्याउँला तर सडक बनाउने कामलाई अहिले रोक्न हुँदैन भनेका छौं ।’

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : २७ बजे