शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले शुक्रबार नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताउनुभएको छ ।

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यो टिप्पणी गर्नुभएको हो ।

ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उहाँका समर्थकहरुले राजधानीमा तोडफोड गरेका थिए ।

“म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन “, बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई बताउनुभयो ।

“ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरु निकै खतरनाक थिए।“

रिपब्लिकनको पराजयपछि उहाँका सयौँ समर्थकहरुले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : ३४ बजे