राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी)।जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो ।

बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन । विस्थापित हुनुभएको कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ । अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताउनुभयो । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् ।

सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पु¥याएको छ । घरमा हिलो र बाहिर पानी भएकाले दिसापिसाब गर्नसमेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ । बाढीपीडित पाँच दिनदेखि एक छाक भुजा खाएर बसेको विस्थापित अनुशा मरिकले बताउनुभयो । वडा कार्यालयले पीडितका लागि भुजा च्युरा सहयोग गरेको इनरुवा– ९ का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिनुभयो ।

गत साताको अविरल वर्षासँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुम्बासीको आठ परिवार सबैभन्दा बढी समस्यामा छन् । मजदुरी गरेर खाने उनीहरु बाढीपछि काम नपाउँदा भोकभोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताउनुभयो ।

पीडितको गुनासो सुन्न कोही नआएको र विद्यालयमा बस्दै आएको पीडित बताउँछन् । तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरुको गुनासो छ । पीडित परिवारलाई दुई दिनअघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोकभोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गर्नुभयो । पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको उहाँले बताउनुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढीपीडितलाई वडाबाट राहत सामग्री वितरण भएको बताउनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : १६ बजे