साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पाणिनिको तपोभूमि भाषा विज्ञानको सिर्जनाभूमि 

महर्षि पाणिनि संस्कृत व्याकरणका सूत्रकार हुन् । पाणिनिद्वारा प्रतिपादन गरिएको व्याकरण नै भाषाको पहिलो व्याकरण मानिन्छ । महर्षि पाणिनिका सूत्रहरूको वास्तविक ज्ञानका विषयमा काशिका न्यास पदमञ्जरी, सिद्धान्त कौमुदी आदिका वृत्तिहरूबाट, महाभाष्यबाट र तिनीहरूबाटै पुष्टि दिइएका भर्तृहरि कैयट, नागेश  आदिका ग्रन्थहरूबाट पनि  सहयोग मिल्छ । यिनीहरूका विवेचनद्वारा नै सूत्रका अर्थको निरूपण र उपयोग हुन्छ । 

यसरी पाणिनीय व्याकरण त्यस बेलाको सामाजिक जीवनको पूर्वीय दर्शन र संस्कृतिको शाश्वत दस्ताबेज बनेको वर्तमानसम्म विश्व वाङ्मयसामु प्रभावशाली बनेर रहेको छ । पूर्वीय दर्शन, संस्कृति र वाङ्मयको साथै भूगोल, समाज र शिक्षाको जानकारीका निमित्त पनि पाणिनीय व्याकरण अध्ययन अति लाभदायक छ । 

पाणिनीय सूत्रहरूमा मध्य एसियादेखि कलिंग पर्वत,  सिन्धु उपत्यकादेखि इरावदी सम्ममा पर्वत,वन, नदी, गाउँ, नगर र देश–प्रदेशको पनि परिचय पाइन्छ । संग्रहित पद र पदावलीहरूबाट तत्कालीन सांस्कृतिक जीवनको आदर्श चित्र झल्किन्छ । त्यसैले त भनिएको छ–‘पाणिनीयम् महाशास्त्रमा परसाधुत्व लक्षणम्, सर्वोपकारकं ग्राह्यं कृतस्नं त्याजं नकिञ्चन अर्थात् पद सिद्ध गर्ने लक्षणले युक्त पाणिनीय व्याकरण महाशास्त्र सबको उपकारक हुनाले सम्पूर्ण ग्रहण गर्न योग्य छ, यसमा त्याग्न पर्ने केही छैन ।’ अष्टाध्यायीबाहेक जाम्बवती विजय,  द्विरूपकोश, ऋक् तन्त्र आदि महत्वपूर्ण कृतिहरू पनि सिर्जना गरेका थिए ।

महर्षि पाणिनिद्वारा रचित पहिलो सिर्जना माहेश्वर सूत्र हो । यसमा १४ सूत्र छन् । यसको विस्तारका रूपमा पाणिनिले सूत्राष्टाध्यायी रचना गरे । पाणिनिलाई भाषा व्याकरणका पिता मान्न सकिने आधार यिनै हुन् । यिनै पाणिनिका विषयमा यहाँ केही चर्चा अघि सार्ने प्रयास गरिएको छ । 

पाणिनिको अर्को नाम शालातुरीय थियो । यसबाट उनी शलातुरमा जन्मेका थिए भन्ने स्पष्ट हुन्छ । बलभी नरेश वसेनको संवत् ३१० को ताम्रपत्रमा, भामहद्वारा रचित काव्यालंकारमा, काशीकाको विवरण पञ्जिका तथा गुणरत्न महोदधिमा पनि पाइन्छ— ‘शलातुरो नाम  ग्राम: स अभिजनो अस्यास्तीति शालातुरीयस्तत्र भवान् पाणिनि, अर्थात् शलातुर नामक गाउँमा जन्मेका हुनाले शालातुरीय रहेको हो ।’

यसैका आधारमा अन्वेषकहरूले महर्षि एवं वैयाकरण पाणिनिको जन्मथलो शलातुर गाउँलाई मानेका छन् । श्यू यान च्वाङ नामक चिनिया यात्री सातौँ शताब्दीमा शलातुरग्राममा  गएका थिए भनिन्छ । उनले त्यहाँका स्थानीय मान्छेहरूसँग सोधपुछ गरे । स्थानीय मान्छेहरूले पाणिनिको जन्मभूमि शलातुर बताउने अनेक कथा किंवदन्तीहरू सुनाए । त्यसका आधारमा ती यात्रीले शलातुर गान्धार देश, काबुल नदी र सिन्धु नदीको दोभाननेर प्रसिद्ध उद्भाण्ड स्थानदेखि पश्चिमोत्तर दिशामा दुईकोश जति टाढा हालको लाहोर सहरको नजिकै हो भन्ने कुरा लेखेका छन् । विचारणीय कुरा के छ भने लाहोर सहरदेखि सिन्धु र काबुल नदीको दोभान च्वाङले लेखेभन्दा धेरै फरक छ । दुई कोस हैन २०० कोसभन्दा पनि फरक छ । यसर्थ, के अनुमान गर्न सकिन्छ भने या शलातुर  हालको लाहोरभन्दा धेरै पश्चिमोत्तर, सिन्धु र काबुलनदीको दोभान नजिक थियो या चिनियाँ यात्रीले सत्य तथ्य दिन सकेनन् ।

जेहोस्, शलातुर भन्ने पाणिनिको जन्म गाउँ पक्का हो । उनको पुर्ख्यौली देश भने वाहीक वा बाल्हीक (अहिलेको वलख) थियो भनिन्छ, जो मानस कैलाशभन्दा पश्चिम, खसहरू नेपाल पसेको उपल्लो मार्गमा पर्छ, जहाँ दरद र कसगर रहेका छन् ।

पाणिनिका पिता धनी व्यापारी थिए । संस्कृत भाषामा व्यापार व्यवसायलाई ‘पण’ वा ‘पणनम्’ भनिन्छ । सामन वा शालङ्क व्यापारिक कारोबारी भएकाले उनको पेसा अनुसार उनलाई ‘पणिन’ भनिन्थ्यो । यो समयमा व्यापारीलाई आदरसहित साहुजी भनेझैँ त्यो बेला उनलाई पनि पणिन भन्नु स्वाभाविक हो । पणिनका छोरालाई ‘कुमार साहु’ भनेझैँ पाणिन या पाणिनि भनेर सम्बोधन गर्न थालियो । उनको वास्तविक नाम आहिक भए पनि पाणिनि नाम नै सर्व प्रचलित भयो ।

पाणिनिका अन्य विभिन्न नामहरू पनि छन् । पाणिनि, पाणिन, दाक्षीपुत्र, आहिक, शालङ्की र शालातुरीय (पुरुषोत्तम देव निर्मित त्रिकाण्डकोश अनुसार ) समेत छ वटा रहेका छन् । त्यसै गरी शालातुरीयक, दाक्षीपुत्र, पाणिनि र आहिक (वैजयन्ती कोशअनुसार) भन्ने नामहरू छन् । संस्कृत–हिन्दी कोशले शालोत्तरीय र मातृ पक्षीय नाम दाक्षेय पनि दिएको छ । पाणिनिको वास्तविक नाम आहिक उनको पुर्ख्यौली देश वाहिकसँग ध्वनि सामीप्य रहेको देखिन्छ । प्राचीन कोश र ग्रन्थहरू केलाउँदा कुनै निक्र्याेल निस्कन पनि  सक्छ । पाणिन, पाणिनि र आहिक नामबारे माथि चर्चा भयो ।  दाक्षीपुत्र वा दाक्षेय दक्षकुलकी कन्यापुत्र हुनाले, शालङ्की पिताको नामबाट र शालातुरीय, शालातुरीयक वा शालोत्तरीयक चाहिँ जन्मथलोबाट रहेका नामहरू हुन् ।

पाणिनिका पिताको नाम सामन थियो (भविष्य पुराण प्रतिसर्गपर्व ३१.२.४) तर पाणिनिका पितालाई शालङ्क पनि भनिएको छ (महामहोपाध्याय शिवदत्त शर्मा – नवाह्निक महाभाष्यको भूमिका) । शतभिषा नक्षत्रको दोस्रो पाउबाट उस्तै–उस्तै दुई वटा नाउँ चलेका पनि हुन सक्छन् नेपालीहरूको— षडानन्द वा खडु भनेजस्तै ।

त्यसरी नै ‘सर्वेसर्व पदा दाक्षीपुत्रस्य पाणिन अर्थात् सम्पूर्ण पदहरूमा सबै आदेशहरू दाक्षीपुत्र पाणिनिका हुन्’ भन्ने पदावलीले पाणिनिकी आमा दक्षकुलकी कन्या थिइन् भन्ने जानकारी दिन्छ । दाक्षी गोत्रप्रतयान्त उपनाम होला भन्ने अनुमान गरिएको छ । खास नाम कतै भेटिएको छैन । संस्कृत– हिन्दीकोशले भने पाणिनिकी आमा दाक्षी दक्ष प्रजापतिकी छोरी थिइन् र पाणिनिको मातृ पक्षीय नाम दाक्षेय पनि थियो भनेको छ । (संस्कृत–हिन्दी कोश ४५४)

छन्द शास्त्रका निर्माता पिङ्गलमुनि पाणिनिका भाइ हुन् भन्ने कुरा वेदार्थ दीपिकामा षड्गुरु शिष्यले मानेका छन् । यसै गरी शिक्षा सङ्ग्रहमा ‘दाइले बनाएको व्याकरणमा भाइ पिङ्गल आचार्यले उनको मत अध्ययन गरी शिक्षा वर्णन गर्न समर्थ भए’ भनिएको छ । यी प्रमाणहरूका आधारमा पाणिनिका भाइ पनि विद्वान थिए भन्ने गरिन्छ (छन्दो ज्ञान विधि जघान मकरो वेलातटे पिंगलम्– पञ्चतन्त्र २.२३) ।

पाणिनिको कालावधि
यस विषयमा विद्वान विदुषीहरूमा मतभेद छ । तीमध्ये मिल्दाजुल्दा केही मतहरू निम्नलिखित छन् –
१.पाणिनिको समय ईसा पूर्व ७औँ शताब्दी हो ( वासुदेव शरण अग्रवालः पाणिनिकालीन भारत वर्ष )
२.शास्त्र जान्ने कणादका शिष्यहरूसँग शास्त्रार्थमा हारेका पाणिनि तपस्या गर्न गए (भविष्य पुराण) भन्ने  उक्ति अनुसार पाणिनि कणादका शिष्यका समकालीन थिए भन्ने देखिन्छ । कणादको समय इसा पूर्व छैटौँ शताब्दी हो भने उनका शिष्यका समकालीन पाणिनि पनि ईसा पूर्व छैटौँ शताब्दीको अन्ततिर वा पाँचौँ शताब्दीको आदिमा भए होलान् भन्न सकिन्छ ।

३.कात्यायन पनि पाणिनिका समकालीन हुन् । यस कारण पाणिनि र कात्यायनको शास्त्रार्थ भयो भन्ने कुरो कथा सरित् सागर, बृहत् कथा मञ्जरी आदिमा बताइएको छ । पतञ्जलि भने ती दुवैभन्दा पछिका हुन् । यसभन्दा पहिले पनि पाणिनिका व्याकरणमा अनेक वार्तिक (पूरक शास्त्रहरू) थिए तथापि, तीमध्ये कात्यायनकै वार्तिकको प्रधानता छ । महाभाष्यमा आफ्नो उक्ति दृढ गर्नलाई ‘अर्को भन्छ’ भन्ने उपक्रम राखिएको छ जसले त्यहाँ अरू वार्तिक भएकामा सम्मति देखाइएको छ ।
४.मोदनाथ प्रश्रितको विचारमा पाणिनिले अष्टाध्यायीको सूत्र ‘कुमार श्रमणादिभिः’मा  र अन्यत्र पनि बौद्ध सन्दर्भहरूको उल्लेख गरेकाले उनी गौतम बुद्धभन्दा पछि भएका हुन् र त्यस्तै मौर्य काल (ईसा पूर्व चौथो–तेस्रो) मा पाणिनि व्याकरण अनुसार रामायण, महाभारत जस्ता ग्रन्थहरूको सम्पादन भएकाले पाणिनिको समय ईसा पूर्व पाँचौँ शताब्दी भएको धेरै सम्भावना छ । 

वैयाकरण एवं महर्षि पाणिनिले शलातुर, तक्षशिला पाटलीपुत्र आदि स्थलहरूमा औपचारिक शिक्षा लिए पनि शास्त्रार्थमा आफ्ना समकालीन सहपाठी वररुचि कात्यायन र मामा व्याडि समेतसँग हारेपछि निराश भएर रहेको अवस्थामा आफ्ना मामा व्याडि, पाटलीपुत्र विद्यापीठका आचार्य वर्ष तथा उनकी पत्नीको सल्लाहले तपस्या गर्न भनी उत्तर पश्चिमी बाटो हिँडेर श्रावस्ती, कपिलवस्तु र वाणगंगा हुँदै महाभारत पर्वत श्रेणीको मनोरम दह तूदीग्राम नजिकै पुगे । यहाँको सौन्दर्यले उनलाई आकर्षित गर्‍यो । 

पर्वतराज हिमालयका धवलागिरि, निलगिरी, मुक्ति क्षेत्र आदि उत्तरावर्ती आकर्षण, दक्षिणावर्ती समथर तराई क्षेत्रको फाँट, पूर्व र उत्तरका अनेक सुन्दर चुली तथा वन–उपवनहरुलाई साक्षी राखेर सिद्धेश्वरको स्थान भएको थलोमा कुटि तुल्याएर देवादिदेव महादेवको स्तुति गर्दै  श्रेष्ठ शास्त्र निर्माणको उद्देश्य लिई तपोध्यानमा लीन भए । सिद्धेश्वर दहमा मानव सिद्ध आएर तपस्यारत रहेको सूचना ग्वालाहरुले तूदी र वरपरका गाउँ गोठ तथा खर्कहरूमा पुर्‍याए । 

तदनुसार ग्वाला र कृषकहरू गोरस, सागपात, फलफूल र अन्न लिई भेट्न आए ।  पाणिनिको अन्न पानीको शरीरले यिनै ग्वाला कृषकहरूको उपहार तथा वरपर पाइने कन्दमूलहरूले खरो धान्दै रह्यो । कसैले दुहुनो गाई समेत ल्याएर गोठ बनाइदिईवरी  बाँधिदिए ।  ध्यान तपबाट फुर्सद भको बेला पाणिनिद्वारा प्रदत्त प्रवचन सुनेर स्थानीयजनहरू अति प्रभावित भए । तिनीहरूले पाणिनि लाई ठुला र विद्वान ऋषि ठानी सेवक पनि खटाइदिए । 

यसरी महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल हाम्रो देश नेपालको अर्घाखाँची हुनु हामी सम्पूर्ण नेपालीहरूका लागि गौरवको विषय हो । पाणिनिको यही तपोभूमिलाई स्थानीयहरूले पणेना भन्ने गरे । यही पणेनालाई हाल पाणिनि गाउँपालिका नामकरण गरिएको छ । 

बुद्धलाई झैँ एकान्त गरिएको ध्यान र चिन्तनबाट उनलाई आफूले हार्नु परेका शास्त्रार्थका गाँठाहरू खुल्दै गए । महादेवबाट आफूलाई अन्तःस्फुरण भएको ठानी अइउण् आदि १४ सूत्र र ८ अध्याय भएको अष्टाध्यायी रचना गरे । रचनाका लागि ग्वाला सेवकले निगालाका कलम, सिमीका पात र अन्य वनस्पति पकाएर बनाएको  मसी, ताडपत्र, बाँसका सुपला, उच्च पहाडबाट झिकाएका भोजपत्र आदिमा आफ्ना रचनाहरू लिपिबद्ध गरेर सङ्कलन गरे । 

वैदिक जनहरूले बोल्ने भाषा त्यति बेला परिवर्तन भई लौकिक संस्कृत भाषा  प्रचलनमा आएको थियो । पाणिनिले वैदिकदेखि संस्कृतसम्मका र यीबाहेक वरपर प्रचलित अन्य स्थानीय भाषाहरूको स्थलगत अध्ययन समेत गरी तिनलाई समेत आधार हुने गरी नूतन व्याकरण तयार गरे । पाणिनिले आशुतोष भगवान् सदाशिवलाई प्रसन्न पारेको भनिएको विषयमा त सबै उत्तरवर्ती विद्वानहरू एक मत छन्  ।

पाणिनि दहमा खासगरी मकर सङ्क्रान्ति र एकादशीमा स्नान गरी सिद्धेश्वरको आराधना परम्परादेखि नै हुँदै आएको हो । पाणिनिलाई वरद बनाउने अथवा सिद्धि प्रदान गर्ने महेश्वरलाई नै सिद्धेश्वर मानिएको हो । बुद्धकालीन कपिलवस्तुको महिमा जताततै फैलिएको थियो । त्यसै कारण पाटल पुत्रबाट सोधखोज गर्दै पाणिनि कपिलवस्तु आए र त्यसैबाट हिमालय क्षेत्र ताकेर महाभारत शृङ्खलामा रहेको तूदीग्राम नजिकैको सिद्धेश्वर  दहमा आफ्नो तपस्या गर्ने थलो रोजे । 

स्थानीय ग्वाला तथा किसानहरूले उनलाई स्वागत गरी बस्ने व्यवस्था मिलाइदिए । सहयोगी शिक्षक पनि राखिदिए । पाणिनिले दहको पूर्वी भागमा शिला स्थापना गरी सघन साधनासहित महेश्वरलाई आह्वान गर्दै ज्ञानको अन्तःस्फुरण गराए । आफ्नो ज्ञानलाई अभिलेखीकरण गरे । केही वर्ष स्थानीय शिष्यहरूमा आफ्ना सूत्रहरूको प्रयोग गरे । आफ्ना शास्त्रीय वैदिक र  लौकिक संस्कृत भाषालाई समेटेको  सुरुमा १४ सूत्र र पछि ३९९५ सूत्र भएको आठ अध्यायको प्रसिद्ध ग्रन्थ अष्टाध्यायी निर्माण गरे । शिक्षा,  जाम्बवती विजय, द्विरूपकोश जस्ता महत्त्वपूर्ण ग्रन्थहरू  उनकै योगदान हुन् । 

तपस्या र साधना गरेर, तर्कहरूले पुष्टि दिएर अनि शिष्यहरूमाथि प्रयोगसाथ जाँचेर आजभन्दा करिब २५०० वर्षअघि बुद्धको पछिपछि यत्रा विधि ग्रन्थ तयार गर्ने महर्षि पाणिनीको तपोभूमिमा अर्वाचीनमा भएका केही गतिविधिहरूको संक्षिप्त विवरण यस प्रकार छ:

पाणिनि ग्राम अर्थात् अर्घाखाँचीको पणेनाका अर्वाचीन साधक शालिग्राम पोखरेल शिवराजले प्राचीन सन्दर्भहरू र अर्वाचीन प्रमाण तथा अनुमानहरू समेटेर पाणिनि तपोभूमि ऐतिहासिक प्रबन्ध कृति तयार पार्नुभयो । यसलाई काशीका विद्वान पं. कृष्णमणि त्रिपाठीको सम्पादनमा त्यसलाई नेपाल र भारतका विद्वानहरूबाट प्रमाणित गराई विसं २०१५ इस्वी सन् १९५८ मा प्रकाशन गर्नुभयो । पण्डितराज सोमनाथ शर्मा सिग्देल, कविशिरोमणि लेखनाथ पौडेल, पं. पूर्णप्रसाद अर्याल, मोदनाथ प्रश्रित, विष्णुराज आत्रेय, पं.नीलहरि शर्मा, पं.कृष्णचन्द्र मरासिनी,  राजनारायण शुक्ला काशी विद्वत् परिषद्, मुरलीधर मिश्र वाराणसेय संस्कृत विश्वविद्यालय, रामप्रसाद त्रिपाठी काशी हिन्दु विश्वविद्यालय, कृष्ण मोहन ठक्कर काशी हिन्दु विश्वविद्यालय, दामोदर भट्टराई काशी हरिहर महाविद्यालय, अवधेश प्रसाद द्विवेदी भारत धर्म महामण्डल र राम अवध पाण्डेय बिरला संस्कृत कालेज आदिबाट सम्मति प्रदान गरिएको छ । 

यस खोजमूलक पुस्तकले पाणिनि तपोभूमिलाई स्थापित ग¥यो । स्थानीय जनताले यहाँ विभिन्न मन्दिर र मूर्तिहरू स्थापना गरे । शालिग्राम पोखरेलले नै पाणिनीको सङ्गमर्मरको मूर्ति २०१८ सालमा स्थापना गर्नुभयो । पाणिनिको मूर्ति राखेपछि थन्थापे कान्छा बाबा र घनश्याम गिरीको सक्रियतामा कोटीहोम गरियो । पाणिनि मन्दिरमा नित्य पूजा चलाउन पणेनाका लिलामणि पोखरेलले पाल्पा जुठापौवा–बोरेआको दश रोपनी खेत दिनुभयो । 

पोखराथोकका नारायण गौतमले मुष्टी उठाएर २०१९देखि २०२२सम्म पाणिनि व्याकरण विद्यालय चलाउनुभयो । झापामा जन्मी मातातीर्थ घर भका स्वामी कृष्णानन्द परमहंस आएर श्रीकृष्ण शिव सिद्धाश्रम स्थापना गरी बसेपछि पणेनाले महत्त्व पाउँदै गयो । स्वामी कृष्णानन्दले यसको शाखा नन्दनवन–पिपरा, कपिलवस्तुमा विस्तार गर्नुभयो । 

प्रत्येक गृष्म ऋतुमा एउटा पुराण लगाई १८ पुराण वाचन गराउनु भयो । करिब २६ वर्ष बसेर विभिन्न धार्मिक कृत्य र साहित्य रचना गरी पणेनालाई उच्च पारी २०६७ मा ब्रह्मलीन हुनुभयो । शालिग्राम पोखरेल ‘पाणिनि बाजे’ नै बनेर २०५६ साल चैत २७ मा स्वर्गे हुनुभएको थियो ।

पाणिनि तपोभूमि स्वर्ण ग्रन्थ प्रकाशनको स्वर्ण जयन्ती अथवा ५० वर्षपछि २०६५ सालमा भारद्वाज पोखरेल समाज काठमाडौँले  मोदनाथ प्रश्रितको भूमिकामा दोस्रो संस्करण प्रकाशन गरेको छ । पचास वर्षको त्यो अवधि र यताका १२ वर्षमा संस्कृत मात्र होइन संस्कृति प्रेमी जनताले तपोभूमिको खोजीलाई ठुलो स्वागत र सम्मान गरे । तपोभूमिमा धेरै ज्ञान यज्ञ, धार्मिक सांस्कृतिक मेला र उत्सवहरू सम्पन्न भए । 

पाणिनिको नाममा सन्धिखर्कमा पाणिनि बहुमुखी क्याम्पस, पाणिनि साहित्य प्रतिष्ठान,  बुटवलमा पाणिनि उद्यान मात्र हैन कैयौँ पथ–सडकका नाम, संस्था–पसल–होटलका नाम पनि राख्ने लहर चल्यो । लेखक साहित्यकारहरूले पनि कलम चलाए । स्वामी कृष्णानन्द दिवङ्गत हुनुभएपछि स्थानीय जनताद्वारा बर्सेनि विभिन्न यज्ञ सम्पादन गरिएका छन् । दुर्गा पक्ष वा कात्तिकमा तल कैलाश डाँडामा र गर्मीमा तपोभूमिमै गर्दै आइएको छ । 

त्यहाँ पाणिनि मन्दिर,  सिद्धेश्वर शिला र मन्दिर, श्रीकृष्ण मन्दिर दुर्गा मन्दिर, अन्नपूर्णा भगवती मन्दिर, ललितेश्वर महादेव मन्दिर,  सिद्धेश्वर धर्मशाला, हनुमान मन्दिर, पुराण मण्डप,  पाकशाला,  हवनकुण्ड,  दृश्य स्तम्भ (भ्यू टावर), फूलबारी, हाताबार, प्रवेशद्वार आदि बनिसकेका छन् । लिफ्टिंग गरेर पानी तान्ने र आपूर्ति गर्ने योजना छ । (क्रमशः)

(लेखक लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिव हुनुहुन्छ ।)

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १२ : २७ बजे