सुनको मूल्यमा नयाँ कीर्तिमान

पोखरामा अन्नपूर्ण केबलकारको सफल परीक्षण, अङ्ग्रेजी नयाँ वर्षदेखि खुला हुने

पोखरा । पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । 

पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अङ्ग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ ।

कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिनुभयो ।

केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट सात जनाको टोली पोखरा आएको छ । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछि मात्र व्यावसायिक रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । लोड परीक्षण करिब सकिएको कम्पनीले जनाएको छ ।

२.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर छन् भने एउटा सामान बोक्नेसहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले ८ जना यात्रु ओसार्न सक्छ । 

केबलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढीले रोजगारी पाउनेछन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेस्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ । केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । 

केबलकारमा यात्रा गर्दा एकै पटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइनेछ । केबलकार निर्माणमा २ अर्बभन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

केबलकारमा चढ्दा नेपालीहरूले दोहोरो शुल्क ६ सय रुपैयाँ तिर्नुपर्छ भने स्थानीय, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि विशेष छुट दिइने निर्देशक त्रिपाठीले बताउनुभयो । 

उहाँकाअनुसार विदेशीले यही केबलकारमा ७ सय र ८ सय रुपैयाँ भाडा तिर्नुपर्छ । एसियन नागरिकलाई ७ सय र अन्य मुलुककालाई ८ सय रुपैयाँ तोकिएको हो । 

पोखरामा ४ वर्ष अघिदेखि केबलकार निर्माण सुरु भएको थियो । केबलकारमा युवा व्यवसायी कालु गुरुङसहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : ०४ बजे