विपत्तिलाई राजनीतिक सम्पत्ति नबनाऔँ !

राज्यको नियतभन्दा पनि क्षमता नपुगेका कारणले विपद्‌मा अपेक्षित ढंगले आफ्नो उपस्थित जनाउन नसकेको यथार्थ स्विकारौँ। राजनीतिक लाभ लिनका लागि भ्रमपूर्ण भाष्यसहित नाटक मञ्चन नगरौँ किनभने विपत्तिका कारणले देश पीडामा छ। बाढी पहिरो अर्थात् प्राकृतिक विपत्ति त यो वर्षका लागि सकियो होला तर मध्यपूर्वमा बढ्दो द्वन्द्व र युद्धले हामी अर्को विपत्तिमा पर्दैछौं। त्यसैले राजनीति भविष्यमुखी भएर वैचारिक मूल्यमान्यता र दूर दृष्टिका साथ गरौँ, क्षणिक लाभका लागि भ्रमित भाष्यको साहारा लिन र देशको परिस्थितिलाई अराजक र जनताको मनस्थितिलाई स्वछन्द बनाएर जनआक्रोशको राँको बालेर धरातलमा टेकेर लोकप्रिय देखिन छोडौँ।

राजनीति गर्छु भन्नेहरूले बुझ्नुपर्ने कुरा के हो भने “जसरी ओखतीको गुणस्तर नहुँदा,भण्डारण ठिक नहुँदा र मिति समाप्त हुँदा त्यसले काम गर्दैन त्यसरी नै राजनीतिमा पनि विचार नहुँदा, नेतृत्वको चरित्रमाथि प्रश्न उठ्दा र मुद्दा सकिँदा त्यसले वैधानिकता गुमाउँछ।” हामी आमजनताले पनि यी सब पक्षहरूको हेक्का राखेर धारणा बनाउनु पर्छ। त्यसैले राजनीतिको विचार, नेतृत्वको चरित्र र मुद्दाहरूलाई हेरेर बुझेर मात्रै आफ्ना धारणाहरू सार्वजनिक गर्नुपर्छ र भिडको लहलहैमा लाग्ने बानी छोड्नु पर्छ। सत्य र भिडको प्रसँगलाई लिएर भागवत गीतामा भनिएको कुरा हाम्रो सन्दर्भमा मेल खान्छ। भागवत गीतामा भनिएको छ, “तिमी जति सत्य र साँचो हुन्छौ त्यति नै एक्लो हुनेछौ किनकि अनावश्यक भिड त असत्य र झुटको पछि पनि देखिन्छ।” त्यतिबेला पनि भ्रमित भिड देखिने रहेछ, यतिबेला देखिनु कुनै अनौठो भएन। तर पनि बौद्धिक वर्गले सत्यका पक्षमा उभिएर भ्रम हटाउने भूमिका निर्वाह गर्नुपर्छ।

हिजो सपना र अवसरको देश अमेरिका भन्दै नेपाली नागरिकता र नेपाल देश त्यागेर अमेरिकन बन्न लाज नमान्ने पात्र आज नेपाल म बनाउँछु भन्दैछ। प्राकृतिक विपत्तिलाई राजनीतिक सम्पत्ति अर्थात् लोकप्रियता कमाउने आधार बनाउन खोज्दैछ। हामी पनि हो क्यारे यिनले नै नेपाल बनाउँछन् कि क्या हो भन्ने भ्रममा परेर धारणा बनाउँदैछौं। जबकि सत्य के हो भने “निज पात्र अमेरिकामा बदमासी गरेर जोगिन नेपालमा आएर गैरकानुनी ९फौजदारी प्रकृतिको काम० रूपमा मिडियामा संलग्न भएका थिए भने मिडियामा रहँदा गरेका बदमासीहरूबाट जोगिन दल खोलेर राजनीतिमा आएका हुन्।” यति सामान्य सत्य पनि बुझ्न र भन्न हामीले सकिरहेका छैनौँ। अदालतले पनि समय मै निर्णय दिएन।

यही प्रसँगलाई लिएर वरिष्ठ पत्रकार किशोर नेपाल एक्समा लेख्छन्, “हाम्रो त जीवन नै गन्थन-गुन्थुन मै सकिने भो। कहिले ग्यालेक्सी कहिले मार्सी, कहिले डम्बरे कहिले अम्बरे, कहिले सुर्ती कहिले मूर्ति, कहिले लाउडा कहिले धमिजा। अहिले त नहर पनि बाढीले बगाउने भो, केटाहरूको जीवन मरुभूमिमा डढ्ने भो।” बुझ्नेलाई ईशारा काफी छ किनभने किशोर नेपालको भनाइले हाम्रो यथार्थ चित्रण गरेको छ। तथापि हामी भ्रममा रमाउन र गलत भाष्यमा परेर धारणा बनाउन छोड्दैनौँ।

यतिबेला हामीले छुट्टाउनै पर्ने कुरा असल र खराब, ठिक र बेठीक अनि सत्य र असत्य हो। आज हामीले सबै खाले भ्रमहरूबाट मुक्त हुने क्षमता देखाउनु पर्छ। हामीले कम्तीमा देशको विकासमा योगदान गर्न नसकेतापनि व्यवधान नगर्ने संकल्प गर्नुपर्छ। किनभने देशको अवस्था बदल्न नागरिकदेखि नेतृत्वको सकारात्मक र रचनात्मक योगदान देशले खोजेको छ। रातो, निलो र पहेँलो क्रान्तिको हल्ला गरेर समस्या थप्ने होइन। बरु शैक्षिक क्रान्ति र सामाजिक/आर्थिक रूपान्तरणमा सघाउने हो। यो खालको बुझाइ हामीमा हुनुपर्ने हो तर हामी यथार्थ बुझ्नेभन्दा पनि सञ्जालहरूबाट छरिएका भ्रमलाई सूचना मानेर धारणा बनाउने गल्ती गरिरहेका छौँ।

आजको हाम्रो मुख्य समस्या भनेकै आ-आफ्नो जिम्मेवारीहरू पूरा नगर्ने र जबाफदेही नहुने प्रवृत्ति हो। पत्रकारहरू स्वतन्त्र र निष्पक्ष भएनन्, सञ्चार माध्यमहरू राज्यको चौथो अंग बन्न सकेनन्, शिक्षालयले असल नागरिक तयार गरेन, न्यायालयले सत्यको जगमा न्याय दिएन, कर्मचारी प्रशासनले सेवा दिएन, र नागरिकले सत्य तथ्य बुझेन। यो वस्तुगत यथार्थलाई बुझेर राजनीतिक नेतृत्वले समय मै सही निर्णयका साथ क्रियाशील हुन सकेन। परिणामस्वरूप चुनौतीलाई अवसरमा बदल्ने भन्दा पनि अवसर चुनौती बन्ने परिस्थिति विकास भयो।

यहाँ त “बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल समेत नबिक्ने” अवस्था बन्दैछ। “जो चोर उसको ठुलो स्वर” हुँदैछ। जसले गर्दा भ्रम, ढाँट र ठगी पनि स्वभाविक देखिदैछ। त्यसमाथि सामाजिक सञ्जालहरूमा बढ्दो अराजक र स्वछन्द टिप्पणीले चर्चा पाउँदा मान्छेहरूमा यही पो सही हो कि भन्ने भान पर्दैछ। दुर्गा प्रसाईँहरूको चर्चा र बहरहरूको अराजकता त्यसकै परिणाम हो। अहिले त प्रा। डा। सुरेन्द्र केसी पनि त्यही अराजकताको जगमा बंगलादेशका मोहम्मद युनुस जस्तै बन्ने सपनामा छन्।

तर बदमासीमाथि बदमासी गर्दै राजनीति गरेर कसैले जोगिन्छु भन्ने ठानेको छ भने त्यो उसको मूर्खता हो। जनतालाई एकपटक दुईपटक झुक्याउन सकिएला तर पटक-पटक झुक्याउन सकिन्न किनभने सत्यलाई सधैँ छाँयामा पार्न सकिन्न। यसर्थ यहाँ अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भनाई उल्लेख गर्नु उपयुक्त हुन्छ, रेगन भन्छन्, “सबैभन्दा ठुलो नेता भनेको सबैभन्दा ठुलो काम गर्ने नै हो भन्ने होइन। जसले मानिसहरूलाई सबैभन्दा ठुला अर्थात् असल काम गर्न लगाउँछ, त्यो ठुलो नेता हो।” त्यसैले यतिबेला हामीले असल नेता र ठिक राजनीति चिन्ने क्षमता देखाउनु पर्ने बेला भएको छ।

“सुधार गर्नु भनेको परिवर्तन गर्नु हो, सबभन्दा असल हुनु भनेको नियमित परिवर्तन भइरहनु हो।” (विस्टन चर्चिल) चर्चिलको यो भनाइले पनि हामीलाई परिवर्तनमा झन् असल हुन र हिजोको भन्दा आज, आजको भन्दा भोलि उत्कृष्ट व्यवहार गर्नुपर्छ भन्ने सिकाएको छ। तर हामी भने खराब पात्र र प्रवृत्तिहरूको नेतृत्वमा परिवर्तन खोजेर देशको भविष्य संकटमा पार्न उद्धत भइरहेका छौँ। भ्रमपूर्ण भाष्यको जगमा बनेको राजनीति र नेतृत्वमा आफ्नो भविष्य देखिरहेका छौँ। यस्तो चेतनाले न देशलाई समृद्ध बन्न दिन्छ न त भोलि देशको सार्वभौमिकता नै जोगिन्छ। हिजो युक्रेनीयनहरूले बुद्धि विवेक प्रयोग नगर्दा आज थातथलो छोडेर शरणार्थीको जीवन बिताउनु परेको छ र युक्रेनको भविष्य संकटमा छ। त्यसैले विश्वमा भएका घटनाहरूबाट सिकेर हामीले हाम्रो सन्दर्भमा के ठिक के बेठीक, को असल को खराब छुट्टाउन सक्नुपर्छ।

“देश कस्तो बनाउने भन्ने कुरा नागरिकदेखि नेतृत्व कस्ता भन्ने कुरामा भरपर्छ। नागरिकदेखि नेतृत्व कस्ता छन् भन्ने कुरा त्यो देशको शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्छ।” आज जे देखिदै र भोगिँदैको छ, सारमा त्यो खराब शिक्षाको परिणाम हो। यसका साथै खराब प्रशासन र न्यायलयसँगै असान्दर्भिक आर्थिक नीतिको परिणाम पनि हो। तर हामी भने राजनीतिमा मात्रै समस्या देख्ने भ्रममा परेका छौँ। अनि त “नयाँजति असल पुरानाजति खराब” भन्ने खराब भाष्यमा जकडिएका छौँ। त्यसैले फौजदारी अभियोगमा जेलमा बस्नुपर्ने खराब पात्रलाई अघि लगाएर परिवर्तन खोज्दैछौं।

यहाँ हामीले बुझ्नुपर्ने र बुझाउनै पर्ने कुरा के हो भने “जतिसुकै राम्रो व्यवस्था भएतापनि त्यसको प्रभावकारिता सञ्चालनमा संलग्न पक्षहरूको भूमिकामा निर्भर गर्छ। जस्तैस शिक्षा राम्रो बनाउन शिक्षक, अस्पताल राम्रो बनाउन चिकित्सक, नर्स र अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारी, न्यायालय राम्रो बनाउन न्यायाधीश र वकिल अनि सरकारी सेवा राम्रो बनाउन कर्मचारीहरूको भूमिका मुख्य हुन्छ।” तर यो कुरोको ख्यालै नगरी हामी भने भ्रमित र खराब भाष्यबाट प्रभावित भएर धारणा बनाउने र अभिव्यक्ति दिने काम गरिरहेका छौँ।

हाम्रो यो प्रवृत्तिले एकातिर राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्न सघाउँदैछ भने अर्कातिर देशको परिस्थितिलाई अराजक बनाउने पात्रहरूको मनोबल बढाउँदैछ। यो खालको राजनीतिले अन्ततः नेपालमा बाह्य हस्तक्षेप बढाउने नै हो। फरक त्यत्ति हो “हिजो रातो क्रान्ति भनियो भने आज निलो क्रान्ति भनिदैछ।” अहिले तिनै निलो क्रान्ति भन्नेहरूले प्राकृतिक विपत्तिलाई आफ्नो राजनीतिक सम्पत्ति बनाउने र आफू लोकप्रिय देखिने माध्यम बनाउने प्रयास गरिरहेका छन्। तर सामान्य जनताले यो सत्य बुझ्न पाइरहेका छैनन् किनभने सञ्चार माध्यमहरू निष्पक्ष र स्वतन्त्र छैनन् अनि प्राज्ञिक वर्ग सत्य लेख्नबोल्न डराइरहेको छ। केही प्राज्ञिक भनिनेहरू यसमै आफ्नो स्वार्थ पूरा हुने सपना देखिरहेका छन्।

यतिबेला हामीले विचार गर्नुपर्ने कुरा के हो भने “हिजो प्रचण्डका पछि डा। बाबुराम भट्टराईलाई देखाएर रातो क्रान्ति भनियो, त्यसपछि के के भयो, हामी सबैले देख्यौं र भोग्यौँ पनि। आज रबी लामिछानेका पछाडि डा। स्वर्णिम वाग्लेहरू देखाएर निलो क्रान्ति भनिदैछ, अब हामीले के के देख्नु र भोग्नु पर्ने हो। अनुमान गर्न कठिन छ।” दुवै क्रान्ति लम्फाजीले हामीलाई झुक्याउन प्राज्ञिकहरूको साहारा लिएको स्पष्ट देखिन्छ। त्यसैले पिएचडी मात्र गरेकाहरूको भाष्यको जालमा नपरौँ। अनुभवहरूबाट सिकेर तुलनात्मक विश्लेषण गरेर असल र खराब, ठिक र बेठीक  छुट्टाउने ल्याकत देखाऔँ।

एउटा कुरा के हो भने सकारात्मक र रचनात्मक हुन भन्दा नकारात्मक र अराजक हुन सजिलो छ। वैचारिक भन्दा विचारहीन राजनीति गर्न सजिलो छ। चरित्रवान् हुन भन्दा चरित्रहीन हुन सजिलो छ। वास्तविक हुनु भन्दा अवसरवादी हुन सजिलो छ।  आज यही सजिलो बाटो रोज्नेहरू हामीलाई झुक्याउन प्राकृतिक विपत्तिलाई राजनीतिक सम्पत्ति बनाएर कोही लौरो देखाउँदै त कोही घण्टी बजाउँदै राजनीतिलाई प्रदूषित बनाउन खोज्दैछन्। समाजले यसलाई पत्याउँछ भने हामीले बुझ्नुपर्छ, समाज पनि गलत बाटोतिर जाँदैछ अनि परिवर्तन संकटमा पर्दैछ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  २ : १० बजे