बाढीको स्थितिमा सुधार

वामपन्थी सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन सक्दैनन् ः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दाबी गर्नुभएको छ । 

नेकपा एमाले झापाले शनिवार बिर्तामोडमा आयोजना गरेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गर्नुभएको हो । 

अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरू कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताउनुभयो । उहाँले अनेकौँ समस्याको सामना गरेर नेकपा एमालेले देश विकासको अभियानलाई उचाइमा पुर्‍याएको दाबी पनि गर्नुभयो ।

चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीसहित जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य, जिल्लाका विभिन्न कमिटीमा निर्वाचित १४६ लाई सो अवसरमा नेकपा एमाले झापाको तर्फबाट सम्मान गरिएको थियो । 

पार्टी अध्यक्ष ओलीलाई एमाले झापाका तर्फबाट अभिनन्दनसमेत गरिएको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ३३ बजे