बाढीको स्थितिमा सुधार

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उहाँहरूप्रति सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभएको हो । 

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरूका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको हो ।”

उहाँले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

‘सभ्य नागरिकको पहिचान: ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । “दिनप्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको हो”, सन्देशमा उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै त्यसलाई नयाँ पिँढीमा हस्तान्तरण एवं पुस्तान्तरण गर्नु जरुरी छ ।”

प्रधानमन्त्री देउवाले परापूर्वकालदेखि चल्दै आएको ‘मातृदेवो भव: पितृदेवो भव:’ भन्ने हाम्रो संस्कारअनुसार आफूभन्दा ठुलालाई देवता समान सम्मान र आदर गर्ने व्यवहारलाई अक्षुण्ण राख्नु हामी सबैको कर्तव्य भएको बताउनुहुँदै ज्येष्ठ नागरिक दिवसको अवसरमा समस्त ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने निर्णय गरेको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । 

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : २० बजे