राष्ट्रपति भवनमा घटस्थापना

लयमा आउँदै सार्वजनिक यातायात

काठमाडौँ। बाढी, पहिरोले राजमार्ग अवरुद्ध हुँदा तीन दिनसम्म पूर्ण बन्द भएको यातायात क्षेत्र विस्तारै लयमा आउन थालेको छ । राजमार्गका पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएपछि क्रमशः यातायात क्षेत्र सञ्चालनमा आएका छन् तर सार्वजनिक सवारी भने निक्कै कम सञ्चालन भएका छन् ।

प्रहरी चेकपोस्ट नागढुङ्गाका अनुसार गत २४ घण्टामा सवारी सञ्चालन निकै कम भएको छ । २४ घण्टामा काठमाडौँबाट बाहिर जाने बसको सङ्ख्या ७३८ रहेको छ । जसमा २४ हजार ६९८ जना यात्रु बाहिरिएका छन् । २४८ वटा साना सवारीमा दुई हजार ४०० यात्रु बाहिरिएको चेकपोस्टका प्रहरी हवल्दार रामपुकार सुन्दासले जानकारी दिनुभयो ।

त्यस्तै गत २४ घण्टामा नागढुङ्गाबाट काठमाडौँ भित्रिएका यात्रुको सङ्ख्या आठ हजार १३३ रहेको छ भने ३२० वटा बस भित्रिएका छन् । एक हजार ७०० ट्रक नागढुङ्गाबाट बाहिरिएका छन् । बुधबार साँझदेखि यात्रुबस सञ्चालन गरिएको छ । मङ्गलबार ३०३ वटा बस नयाँ बसपार्कबाट बाहिरिएका थिए । विस्तारै यात्रुको चहलपल बढ्न थालेको यातायात व्यवसायीले जनाएका छन् तर दसैँ नजिकिँदै गर्दा पनि सार्वजनिक सवारीमा चहलपहल भने छैन । सामान्य दिनको तुलनामा निकै कम सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

दसैँका लागि खुला गरिएको अग्रिम टिकट बुकिङको काउन्टरमा पनि चहलपहल छैन । विगतमा बिहानैदेखि लामो लाइन बसेर अग्रिम टिकट काटिएका हुन्थे तर यस पटक भने निक्कै कम सङ्ख्याले टिकट काटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । बुधबार जम्मा ९५० जना यात्रुले मात्र अग्रिम टिकट काटेको नयाँ बसपार्क प्रहरी बिटका वरिष्ठ हवलदार लक्ष्मण विकले जानकारी दिनुभयो ।

अग्रिम टिकट खुला भएपछि बुधबारसम्म २७ हजार ९०० जनाले मात्रै टिकट काटेका छन् । विगतको तुलनामा यो ७० प्रतिशतले कम भएको अध्यक्ष स्वाँरले बताउनुभयो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : १० बजे