नवलपुरमा  भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरमा राष्ट्रिय स्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । 

अङ्ग्रेजी नयाँ वर्ष , माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सह आयोजनामा यही पुस १७ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।नवलपरासी पूर्व नवलपुर र पश्चिम नवलपरासीसहित काठमाडाँै, पोखरा, हेटौँडा, चितवन, सुर्खेत, वीरगञ्जलगायतका गरी १२ टिमले सहभागिता जनाउने उहाँले  बताउनुभयो । 

प्रतियोगिताको फाइनल खेल भने  पुस २४ गते हुने जनाइएको छ । प्रतियोगितामा विजेता हुने टिमले रु एक लाख र उपविजेता हुने टिमले रु  ५१ हजारसहित  ट्रफी तथा मेडल प्राप्त गर्नेछ । 

उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने सहआयोजक क्लबका सल्लाहकार पुष्परत्न महतोले बताउनुभयो । 

प्रतियोगिता सम्पन्न गर्न करिब रु छ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीय तह, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामाजिक  व्यक्तित्व एवं सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा राष्ट्रिय स्तरको खेल गर्दा खेलले यहाँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष पुनले बताउनुभयो । 

“राष्ट्रिय स्तरको भेट्रान्स फुटबल प्रतियोगिताले खेलसँगै पर्यटनलाई समेत जोड्ने अपेक्षा छ, देशका विभिन्न स्थानबाट आउने खेलाडीमार्फत जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउँछ”,  उहाँले भन्नुभयो, “खेललाई  जिल्ला चिनाउने थलोका रूपमा समेत प्रतियोगितालाई लिएका छौँ ।” रासस

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ०८ बजे