जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिऔँ: सभामुख घिमिरे

काठमाडौं ।सभामुख देवराज घिमिरेले सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरु प्रत्यक्ष र अपत्यक्ष रूपबाट आइरहेको बताउनु भयो । उहाँले अहिले सङ्घीयता नै बेठिक भयो भन्ने गरी आक्रमण भइरहेको भन्दै सङ्घीयता कानुनअनुसार चल्ने हो भने राम्रो रहेको बताउनु भयो ।

उहाँले मनोगत भन्दा तथ्यगत आधारहरू हेरेर सङ्घीयताको मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा सङ्घीयता अझ प्रभावकारी बनाउन, सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र सङ्घीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको खातिर पनि यो सरकार बनेको हो भन्नेकुराहरु प्रत्यक्ष र अपत्यक्ष रूपबाट आइरहेको छ । त्यो गर्ने प्रक्रियामा कहिले जान्छ, कसरी जान्छ ? प्रक्रिया के हुन्छ एउटा कुरा भयो । तर जे भए पनि अहिले निकै ठुलो अट्याक के छ भने सङ्घीयता नै बेठिक थियो, बेठिक छ र तीन तहको सरकार बढी खर्चिलो भयो, यो प्रशासनिक रूपमा मात्रै गए । विकासको साधक होइन बाधक भयो भन्ने कुरा धेरै आएको छ । म व्यक्तिगत रूपबाट अस्वीकार गर्छु । किनभने त्यो मनोगत कुराहरू छ, तथ्यगत रूपमा कुराहरू छैन । तथ्यमा आधारित भएर यो आयोगले धेरै कामहरू गरेको छ । अझै डेटमा जाने तथ्याङ्कहरू, तयारी गर्ने र कार्यान्वयनले के परिणाम दिइरहेको छ हेर्ने, कार्यान्वयनमा जाँदाका श्रोतको उपयोग, रिसोर्सको उपयोग कसरी भइरहेका छन् त्यो बुझ्नुपर्छ । अनुमानमा भन्दा तथ्यमा आधारित भएर आउनुपर्छ । आगामी दिनमा सङ्घीयता अझ प्रभावकारी बनाउन, सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र हाम्रो सङ्घीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी ढङ्गबाट कामहरू गर्नका लागि यसको भूमिका महत्त्वपूर्ण छ ।’

सभामुख घिमिरेले सङ्घीयता विकासको वाधक भयो भन्ने कुरामा आफू असहमत रहेको बताउनु भयो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : २३ बजे