लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

काठमाडौँ । सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो ।लेबनानमा हालसम्म सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

‘‘लेबनानमा विकसित पछिल्ला घटनाक्रमबाट सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको छ ।,’’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहनुभएको छ । उहाँको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ । साथै लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिहरुलाई अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने अनुरोध गरिन्छ ।’’

यसैगरी, मन्त्रालयले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्य दूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी, बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यसैगरी, काठमाडौँमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ३३ बजे