एमालेको सचिवालय बैठक सुरु

एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काँग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको  बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको छ । 

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको बताए । क्षतिग्रस्त संरचनाकाे मर्मत गरी संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको उनले बताए । 

गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो । ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको मलाई बताउनु भएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन,’ उनले भने, ‘चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन ।’ 

सरकारले अहिले पनि राहत र उद्धारको काम भइरहेको गृहमन्त्री लेखकले बैठकमा सुनाए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ५७ बजे